• २०८३ मङ्सिर ८ गते सोमवार

राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ७, काठमाडौं । राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान र परम्परागत सीप तथा कलाको पहिचान संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ । समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवसर विस्तार गर्न विशेष अध्ययन कार्यदल गठन गर्ने पहलसमेत अघि बढाइएको छ ।

मंसिर ६ गते साँझ काठमाडौँको सुकेधारामा राउटे समुदायका सदस्यहरूसँग भएको भेटघाटका क्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले उनीहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा गरेकी थिइन् ।

सोही निमन्त्रणाअनुसार समुदायका दुई युवा र दुई बालिका सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका थिए । मन्त्री बादीले आफ्नै कार्यकक्षमा उनीहरूसँग आत्मीय भेटघाट तथा छलफल गरिन् ।

मन्त्री बादीले समुदायका सदस्यहरूसँगै दिउँसोको खाना खानुका साथै उनीहरूकै रुचि र रोजाइअनुसार परिकारको व्यवस्था गरेकी थिइन् । सो क्रममा उनीहरूको व्यक्तिगत चाहना, जीवनशैली, आवश्यकता र भविष्यका योजनाबारे जानकारी लिइन् ।

राउटे समुदायका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई प्रत्यक्ष जानकारी गराई समाधानका लागि समन्वय जुटाउने उद्देश्यले मन्त्री बादीले समुदायका सदस्यहरूलाई आफ्नै साथमा लिएर विभिन्न मन्त्रीहरूसँग भेट गराइन् ।

समुदायका सदस्यहरूकै उपस्थितिमा उनीहरूका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रीहरूसमक्ष कुरा राख्दै आवश्यक पहलका लागि आग्रह गरिन् ।

मन्त्री बादीले कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग राउटे समुदायको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या र दीर्घकालीन विकासका सम्भावनाबारे छलफल गरिन् । समुदायको भाषा, संस्कृति र मौलिक पहिचान सुरक्षित राख्दै जीवनस्तर सुधार गर्न आवश्यक सरकारी पहल तथा विभिन्न मन्त्रालयबीचको समन्वयका विषयमा ध्यानाकर्षण गराइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस