उमेरले डाँडा काटिसक्यो ! न त घरवार, न परिवार , न त कोही इष्टमित्र ! जिन्दगीको कमाइ खाने भाडो त्यही एउटा गाडा छ , तर पनि कमाउन संयोग मिल्नुपर्छ । न गाँसको ठेगान, न त बासको, न त भएका सन्तानले हेरचाह गर्छन । अनि सम्झनुहोस् यो जिन्दगीको कथा व्यथा !

यो चित्र हेर्दा लाग्छ, जीवन यही हो । एउटा काठको गाडा, त्यसैमाथि पल्टिएर निदाएको एउटा मान्छे । न ओछ्यान छ, न सिरानी । हात नै सिरानी बनाएर, दिनभरको थकाइ बिर्सन खोज्दै उ निदाएको छ । सायद उसले बिहानैदेखि भारी बोकेको थियो । सायद कसैको सामान ओसारेको थियो । सायद कसैलाई सहयोग गरेर फर्किएको थियो । अनि थाकेर, बाटोकै छेउमा, आफ्नै गाडालाई नै संसार मानेर सुत्न पुग्यो ।
आखिर जीवन के हो ? जीवन भनेकै यही थकाइ र निद्रा बीचको यात्रा रहेछ । हामी सबै आ-आफ्नो गाडा तानिरहेका छौँ । कसैको गाडामा जिम्मेवारी छ, कसैकोमा ऋण छ, कसैकोमा सपना छ, कसैकोमा एक्लोपन छ । बिहान उठेदेखि साँझसम्म हामी तान्छौँ, दौडिन्छौं, लड्छौँ, उठ्छौँ । अनि एकदिन यस्तै गरी बाटोमै थाकेर पल्टनुपर्छ । फरक यति हो, कोही महलमा थाक्छ, कोही गाडामाथि । तर थकाइ सबैको उस्तै हुन्छ ।
अनि किन झगडा ? किन रीस र राग ? किन वैमनस्य ?
मान्छे थाकेको बेलामा झन् चिड्चिडे हुन्छ । भोकाएको बेलामा, आफ्नो दुःख कसैले नबुझेको बेलामा रिस उठ्छ । हामी आफ्नो गाडा भारी भएको देख्दैनौँ, अर्काको गाडा हलुका भएको मात्र देख्छौँ । उसले किन धेरै कमायो, उसले किन मलाई भन्दा बढी पायो, उसले किन मेरो कुरा काट्यो भन्ने हिसाबमै जीवन बित्छ । अनि त्यही हिसाबले मनमा वैमनस्य पलाउँछ ।
तर साँचो कुरा के हो भने, रिसले गाडा हलुका हुँदैन, झन् भारी हुन्छ । झगडाले थकाइ मेटिँदैन, झन् थकाइ थपिन्छ । हामी अर्कालाई जित्न खोज्दा थाह नपाइ आफैँसँग हारिरहेका हुन्छौँ ।
जीवनमा अरुलाई जति धेरै सहयोग गर्यो त्यति नै अपजस आउँछ । हो, यही त जीवनको सबैभन्दा ठूलो व्यथा हो । हात बढाउँदा हात नै काटिएको जस्तो लाग्छ । मन खोल्दा मन नै दुखाइन्छ । सहयोग गरेको मान्छेले नै पछाडि कुरा काट्दा, गुनको बदलामा गुनासो पाउँदा मन भत्किन्छ । अनि लाग्छ, अब कसैलाई सहयोग नगरौँ । मन कठोर बनाऔँ ।
तर सोच्नुहोस् त, यि पनि त कसैको सहयोगले नै बाँचेको होलान् । उसको गाडामा झुन्डिएको त्यो नीलो कपडा, त्यो च्यातिएको टायर, त्यो बाँधिएको डोरी — ती सबै कसैले दिएको माया र सहयोगकै चिनो हुन् । सहयोगको अर्थ तुरुन्तै फिर्ता पाउनु होइन । सहयोग त बीउ जस्तो हो । कतै उम्रन्छ, कतै उम्रँदैन । कतै फूल फुल्छ, कतै काँडा मात्र पलाउँछ । तर खेती गर्न छोड्यो भने त खेत नै बाँझो हुन्छ ।
जीवन भनेको ठूलो हुनु होइन । जीवन भनेको थाक्दा पनि निदाउन सक्नु हो । रिसलाई माया भन्दा ठूलो हुन नदिनु हो । सहयोग गरेर बदलामा रिस पाउँदा पनि मन नमार्नु हो । किनभने अन्तमा, हामी सबैले छोडेर जाने भनेको यही एउटा गाडा हो । धन होइन, पद होइन, झगडा होइन । मान्छेले सम्झने भनेको हामीले कतिबेला उसको भारी बोकिदियौँ भन्ने कुरा मात्र हो ।
त्यसैले थाक्नुहोस्, तर नहार्नुहोस् । रिसाउनुहोस्, तर रिसमै नबाँच्नुहोस् । आवेशमा अर्थको अनर्थमा जीवन नगुजार्नुहोस् । यो गाडामाथिको निद्रा जस्तै, जीवनलाई पनि कहिलेकाहीँ चुपचाप सुत्न दिनुहोस् । यथार्थ बुझेर भोलि फेरि उठ्नु छ । फेरि गाडा तान्नु छ । फेरि बाँच्नु छ यो समाजमा ।