• २०८३ मङ्सिर ६ गते शनिवार

आज विश्व टेलिभिजन दिवस, धेरै देशमा टिभी नपुगेकाे भन्दै गरियाे बहिस्कार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ५, काठमाडौं । आज विश्व टेलिभिजन दिवस । हरेक वर्ष नोभेम्बर २१ तारिखका दिन विश्वभर मनाइन्छ. यो दिन टेलिभिजन सेट वा प्रविधिको मात्र उत्सव नभई समाज, निर्णय प्रक्रिया, जनचेतना र अन्तर्राष्ट्रिय बुझाइमा टेलिभिजनले पुर्‍याएको प्रभाव र भूमिकालाई सम्मान गर्ने दिवस हो ।

सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव नम्बर ५१/२०५ पारित गर्दै हरेक वर्ष नोभेम्बर २१ लाई ‘विश्व टेलिभिजन दिवस’ का रूपमा मनाउने घोषणा गरेको हो. नोभेम्बर २१–२२, १९९६ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो ‘विश्व टेलिभिजन फोरम’ आयोजना गरिएको थियो ।विश्वभरका सञ्चारकर्मी, प्रसारक तथा विज्ञहरूले टेलिभिजनको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेको उक्त फोरमको सुरुवाती दिनको स्मरणमा यो मिति चयन गरिएको हो.

यो प्रस्ताव पारित हुँदा केही देशले विश्वका धेरै ठाउँमा अझै पनि टेलिभिजनको पहुँच नपुगेको र रेडियो जस्ता माध्यमको भूमिका झनै महत्वपूर्ण रहेको तर्क राख्दै मतदानमा अनुपस्थित जनाएका थिए तैपनि विश्वव्यापी सञ्चार र जनमत निर्माणमा टेलिभिजनको शक्तिलाई ध्यानमा राख्दै राष्ट्रसंघले यसलाई मान्यता दियो।

द्वन्द्व, शान्ति र सुरक्षाका चुनौती, आर्थिक सामाजिक मुद्दा तथा विश्वव्यापी घटनाक्रमलाई दृश्य र ध्वनिसहित सर्वसाधारणसम्म पुर्‍याएर जनचेतना जगाउन र निर्णय प्रक्रियालाई प्रभावित पार्न टेलिभिजनको महत्वपूर्ण भूमिका रहेकाे छ । साथै, शान्ति, सुरक्षा, आर्थिक–सामाजिक विकास र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरूको आदानप्रदानलाई प्रोत्साहन गर्नु यस दिवसको मुख्य उद्देश्य हो ।

दृश्य माध्यमको प्रभाव जति ठूलो हुन्छ, सत्यतथ्य, सन्तुलित र जिम्मेवार प्रस्तुतिको दायित्व पनि त्यति नै बढी हुन्छ. सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिरहेका बेला विश्वसनीय पत्रकारिता, तथ्यजाँच र मिडिया साक्षरताको महत्वबारे विमर्श गर्ने अवसरका रूपमा पनि यो दिवसलाई लिइन्छ.

पहिले टेलिभिजन एकतर्फी प्रसारण माध्यममा सीमित थियो भने आज स्मार्ट टिभी, इन्टरनेट, स्ट्रिमिङ प्लेटफर्म र अन-डिमान्ड भिडियोको युगमा यसको स्वरूप बदलिएको छ । परम्परागत प्रसारण र डिजिटल स्ट्रिमिङबिच प्रतिस्पर्धा र सहअस्तित्व चलिरहे पनि भिडियो उपभोग र ठूला घटनाको प्रत्यक्ष प्रसारणमा टेलिभिजन अझै प्रभावशाली माध्यम मानिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस