मंसिर ४, काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत नेपालले भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भारत ए सँग ३०६ रनले पराजित भएको हो ।

भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछाएको नेपाली टिम ११.३ ओभरमा २६ रन मात्र बनाएर अल आउट भएको थियो । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ओपनरद्वय अर्जुन कुमाल र कुशल भुर्तेलसहित पाँच खेलाडी शुन्यमा आउट भएका थिए । त्यस्तै भारतीय बलर प्रिन्स यादवले ५, हर्षित रानाले ४ र शहबाज अहमदले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउदै ३३२ रन बनाएको थियो । भारत ए का लागि कुमार कुशर्गले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नेपालका बलर कप्तान सन्दीप लामिछाने र ललित राजबंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा पवन सराफले एक विकेट लिएका थिए ।
आजै सम्पन्न समुह बी को अर्को खेलमा पाकिस्तानले युएईलाई पराजित गरेको छ ।
अब नेपालले अर्को खेल नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।