• २०८३ कार्तिक २३ गते आइतवार

यमराजको दूत मानिने कुकुरको पूजा गरी मनाइँदै कुकुर तिहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २२, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ । यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी यो पर्व मनाउने परम्परा छ । धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा परलोक यात्राको पहरेदारका रूपमा लिइन्छ । मृत्युपछि यमलोकको यात्रामा समेत कुकुरले सहयोग गर्ने धार्मिक विश्वासका आधारमा यस दिन कुकुरको पूजा गर्ने चलन रहेको हो ।

कुकुर तिहारका अवसरमा बिहानै स्नान तथा नित्यकर्मपछि कुकुरलाई माला लगाइदिने, निधारमा अबिरको टीका लगाउने र मीठा परिकार खुवाएर पूजा गर्ने गरिन्छ । घरमा पालिएका कुकुरसँगै सडकमा रहेका कुकुरलाई समेत माला लगाएर भोजन गराउने परम्परा छ । यस दिन कुकुरलाई पूजा गरी खाना खुवाउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

वैदिक सनातन हिन्दु परम्परामा कुकुरलाई बफादार, साहसी र सुरक्षाको प्रतीकका रूपमा सम्मान गरिन्छ । ऋग्वेदमा उल्लेखित सरमालाई कुकुरहरूको आमा मानिन्छ । उनले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु पत्ता लगाउन सहयोग गरेको प्रसंग वैदिक ग्रन्थमा उल्लेख छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार कुकुर तिहारले मानिसलाई बफादारिता, निष्ठा र सुरक्षाको महत्त्व बुझाउने धार्मिक तथा सांस्कृतिक सन्देश दिन्छ ।

वैदिक सनातन धर्ममा काग, नागलगायत विभिन्न जीवजन्तुको पूजा गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले कुकुरलाई यमराजको दूतका रूपमा मानिने भएकाले यमराजको भयबाट मुक्त हुन यसको पूजा गर्ने धार्मिक विश्वास रहेको बताए ।

उनका अनुसार कुकुर तिहारको महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन । यसले मानिसलाई कुकुरको बफादारिता र इमानदारिताबाट सिक्नसमेत प्रेरित गर्छ । ‘मानिस फटाहा हुन सक्छ, तर कुकुर आफ्नो बफादारिताबाट पछाडि हट्न सक्दैन । मानिस भएर पनि म त्यति बफादार हुन सकिनँ, बरु कुकुरको त्यो गुण ममा पनि आओस् भन्ने भावनाबाट समेत यसको पूजा गर्न सकिन्छ,’ उनले भने ।

घरको सुरक्षामा कुकुरले निर्वाह गर्दै आएको भूमिकासमेत सम्मानयोग्य रहेको उनको भनाइ छ । अपरिचित व्यक्ति आउँदा भुकेर घरपरिवारलाई सचेत गराउने कुकुरको स्वभावले यसको सुरक्षात्मक भूमिकालाई दर्शाउने उनले बताए ।

ढकालका अनुसार कुकुरको पूजा गर्नुको उद्देश्य त्यसको बफादारिता, निष्ठा र सुरक्षाको गुणलाई सम्मान गर्नुका साथै मानिसले पनि आफ्नो व्यवहारमा यस्ता गुण विकास गर्नु हो ।

तिहार पाँच दिनसम्म मनाइने पर्व हो । यस अवधिमा काग, कुकुर, गाई, गोरु तथा दाजुभाइको पूजा गर्ने परम्परा छ । मानव, जीवजन्तु, प्रकृति र पारिवारिक सम्बन्धलाई महत्त्व दिने भएकाले तिहारलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष पर्वका रूपमा लिइन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस