• २०८३ कार्तिक २३ गते आइतवार

तिहार र छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

नेपाली धर्म, संस्कृति र परम्परा अत्यन्त समृद्ध छन् । यहाँ विभिन्न जातजाति, भाषाभाषी र समुदायले आ–आफ्नै मौलिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक परम्पराअनुसार चाडपर्व मनाउँदै आएका छन् । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले यहाँ मनाइने प्रत्येक चाडपर्वको आफ्नै विशिष्ट महत्त्व छ । यस्तै महत्त्वपूर्ण पर्वहरूमध्ये तिहार र छठ पर्व पनि हुन् । यी दुवै पर्वले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई अभिव्यक्त गर्छन् ।

तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व:
तिहार नेपालीहरूको दोस्रो ठूलो चाड हो । हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र उल्लासका साथ मनाउने यस पर्वलाई यमपञ्चक तथा दीपावली पनि भनिन्छ । सामान्यतया पाँच दिनसम्म मनाइने तिहार उज्यालो, फूल, बत्ती, भाइचारा र आपसी प्रेमको पर्व हो । यस पर्वले मानिस र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ । तिहारको पहिलो दिन काग तिहार मनाइन्छ । हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ । यस दिन कागलाई खानेकुरा दिएर पूजा गरिन्छ । दोस्रो दिन कुकुर तिहार मनाइन्छ । मानिसको विश्वासिलो साथी तथा सुरक्षाकर्मीका रूपमा रहेको कुकुरलाई माला लगाएर मीठो खानेकुरा खुवाइन्छ । यसले मानिस र जनावरबीचको आत्मीय सम्बन्ध तथा पशुपक्षीप्रतिको सम्मानलाई दर्शाउँछ ।

तेस्रो दिन गाई तिहार र लक्ष्मीपूजा मनाइन्छ। गाईलाई पवित्र जनावरका रूपमा पूजा गरिन्छ भने धनधान्य, सुख र समृद्धिकी देवी लक्ष्मीको आराधना गरिन्छ । साँझ घर, आँगन र बाटोमा दीप प्रज्वलन गरी घरलाई झिलिमिली बनाइन्छ । घरमा लक्ष्मीको आगमन होस् र परिवारमा सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामना गरिन्छ । यस दिन देउसी–भैलो खेल्ने, गीत गाउने र नाचगान गर्ने परम्पराले समाजमा आपसी सद्भाव र मनोरञ्जन थप्छ ।

चौथो दिन गोवर्धन पूजा, गोरु तिहार तथा नेवार समुदायमा म्हः पूजा गरिन्छ । यस दिन गोरु र कृषि कार्यमा सहयोग गर्ने पशुको सम्मान गरिन्छ । म्हः पूजामार्फत नेवार समुदायले आफ्नै शरीर र आत्माको पूजा गरी जीवनको महत्त्वलाई आत्मसात् गर्छन् । नेपाल संवत्को नयाँ वर्ष पनि यसै दिन मनाइन्छ ।

पाँचौँ दिन भाइटीका तिहारको विशेष आकर्षण हो । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइदिई दीर्घायु, सुख, शान्ति तथा सफलताको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीप्रति माया, सम्मान र संरक्षणको प्रतिबद्धता व्यक्त गर्छन् । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
तिहारमा सेलरोटी, अनरसा, मिठाईलगायत परम्परागत परिकार बनाउने, घर सजाउने र फूलमाला लगाउने चलन छ । समग्रमा तिहारले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र वैमनस्यतामाथि प्रेमको विजय भएको सन्देश दिन्छ ।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व

छठ पर्व नेपालको विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिभावका साथ मनाइने महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । पछिल्लो समय यसको लोकप्रियता काठमाडौं उपत्यकालगायत देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा समेत बढ्दै गएको छ । नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइने छठ पर्व सूर्यदेव र षष्ठी माताको उपासनासँग सम्बन्धित छ। यो पर्व प्रकृति, स्वच्छता, अनुशासन, पवित्रता र आस्थाको अनुपम उदाहरण हो ।
छठ पर्व सामान्यतया चार दिनसम्म मनाइन्छ । पहिलो दिन स्नान गरी घर तथा भान्साको सरसफाइ गरेर शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन खरना मनाइन्छ । यस दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गर्छन् । त्यसपछि कठिन निर्जला व्रत सुरु हुन्छ ।

तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । नदी, पोखरी, तलाउ तथा जलाशयको किनारमा पूजा सामग्री सजाएर व्रतालुहरू पानीमा उभिई सूर्यदेवलाई अर्घ्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुन्छ । यस अवसरमा ठेकुवा, कसार, फलफूल, नरिवल, उखु, अदुवा, स्याउलगायत सामग्री प्रसादका रूपमा चढाइन्छ । छठ पर्वको सबैभन्दा विशेष पक्ष भनेको अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्नु हो । यसले जीवनमा उदय र अस्त, सफलता र असफलता तथा सुख र दुःखलाई समान रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिन्छ । सूर्यलाई ऊर्जा, प्रकाश र जीवनको मूल स्रोत मानिन्छ । पृथ्वीमा जीवजन्तुको अस्तित्व र वनस्पतिको विकासका लागि सूर्यको महत्त्वपूर्ण भूमिका रहेको वैज्ञानिक तथ्यलाई समेत यस पर्वले स्मरण गराउँछ ।

छठ पर्वमा व्रतालुहरूले अत्यन्त निष्ठा, संयम र पवित्रता अपनाउँछन् । जातीय तथा सामाजिक विभेदभन्दा माथि उठेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई पूजा गर्ने परम्पराले सामाजिक एकता र सद्भावलाई बलियो बनाउँछ । जलाशयको सरसफाइ, वातावरण संरक्षण र प्रकृतिप्रतिको सम्मान पनि यस पर्वका महत्त्वपूर्ण पक्ष हुन् ।

निष्कर्ष:
तिहार र छठ फरक धार्मिक परम्परा र विधिअनुसार मनाइने पर्व भए पनि दुवैको मूल सन्देश प्रेम, सद्भाव, शान्ति, प्रकृतिको सम्मान र सामाजिक एकता हो । तिहारले पारिवारिक सम्बन्ध, पशुपक्षीप्रतिको माया र उज्यालोको महत्त्व सिकाउँछ भने छठले सूर्य, जल र प्रकृतिप्रतिको श्रद्धा तथा अनुशासनको सन्देश दिन्छ ।

आजको व्यस्त, आधुनिक र प्रतिस्पर्धात्मक समाजमा यस्ता चाडपर्वले मानिसलाई आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक पहिचानसँग जोड्ने काम गर्छन् । चाडपर्व केवल रमाइलो र उत्सव मनाउने माध्यम मात्र होइनन्, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यता र संस्कृतिका धरोहर पनि हुन् । त्यसैले तिहार र छठजस्ता पर्वलाई धार्मिक आस्थासँगै सांस्कृतिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो ।

Sharing

प्रतिक्रिया दिनुहोस