कात्तिक १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा भएका विभिन्न सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीद्वारा जारी गरिएको तथ्याङ्कअनुसार यस अवधिमा देशभर कुल १२६ जना मानिस घाइते भएका छन्।प्रदेशगत विवरणअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ३ जनाको दुर्घटनामा परी मृत्यु भएको छ।

त्यस्तै, मधेश प्रदेशमा २ जना र कोशी प्रदेशमा १ जनाले ज्यान गुमाएका छन्। यसबाहेक अन्य प्रदेशहरूमा मानवीय क्षति नभए पनि विभिन्न स्थानमा भएका दुर्घटनाहरूमा ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ।
बढ्दो सडक दुर्घटना र मानवीय क्षतिलाई मध्यनजर गर्दै प्रहरीले चालकहरूलाई तीव्र गति नियन्त्रण गर्न, यातायातका नियमहरूको कडाइका साथ पालना गर्न तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आह्वान गरेको छ। सडक सुरक्षाप्रति सचेतना अपनाउन सके यस्ता दुर्घटनाहरूबाट हुने ठूलो क्षतिलाई न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ।
