• २०८३ कार्तिक १६ गते आइतवार

फेटा घटनाका गोली लागेर घाइते १५ वर्षीय आदित्यलाई थप उपचारका काठमाडौं लगियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १५, काठमाडौं ।  बाराको फेटा गाउँपालिका–३ मा अधुरो आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवाद र झडपका क्रममा गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। घटनामा गम्भीर घाइते भएका पासवानलाई आइतबार काठमाडौं ल्याई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले अस्पताल पुगेर घाइते बालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सांसद अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आदित्यका बुबा तथा परिवारका सदस्य र उपचारमा संलग्न चिकित्सकहरूसँग विस्तृत छलफल गरेको जानकारी दिएका छन्। उनले वीरगञ्जमा प्रारम्भिक उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी र काठमाडौंमा उपचार गरिरहेको चिकित्सकीय टोलीप्रति आभार व्यक्त गर्दै आदित्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

अन्सारीले घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै गोली चल्नेसम्मको परिस्थितिको गहिरो, निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्ने माग गरेका छन्। दोषी जोसुकै भए पनि राजनीतिक संरक्षण वा पदको आडमा कानुनी कारबाहीबाट उम्किन नपाउने उनको भनाइ छ।

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अनुसन्धान सुरु गरेको छ।

शनिबार अधुरो अवस्थामा रहेको आधारभूत अस्पताल उद्घाटन गर्न खोजिएको विषयलाई लिएर स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो। घटनामा गोली लागेर आदित्य घाइते भएका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित छानबिन समितिमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। समितिलाई घटनास्थलको निरीक्षण गरी विवादको पृष्ठभूमि, झडपको अवस्था र गोली चल्नेसम्मका परिस्थितिबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

घटनामा प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठेपछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ। उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई नयाँ कार्यालय प्रमुखका रूपमा खटाइएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन्।

अस्पताल उद्घाटनसम्बन्धी विवादबाट सुरु भएको घटना गोली चल्ने अवस्थासम्म पुगेपछि स्थानीयस्तरमा सुरक्षा निकायको भूमिका र घटनाको निष्पक्ष अनुसन्धानको माग उठिरहेको छ।

राजनीतिक तथा प्रशासनिक विवादको मूल्य निर्दोष नागरिकले चुकाउनुपर्ने अवस्था स्वीकार्य नहुने सांसद अन्सारीको भनाइ छ। उनले आदित्यको उपचार र परिवारलाई आवश्यक सहयोगमा आफूहरू साथमा रहने प्रतिबद्धता जनाउँदै घटनामा न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस