कात्तिक १५, काठमाडौं । चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ ।

मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहनुभएको छ । “हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”
हरेक बिहान ५ः०० बजेतिर उहाँ भक्का बनाउने भाडाकुडा, चुल्हो, दाउराको बिटो र सालको पातको पोको लिएर घरबाट बजारसम्म धाउनुहुन्छ । उहाँले सालको हरियो पातमा दिने तातो भक्का चखिलो अचारसँग चोभेर खाँदा ग्राहकले स्वादिलो मान्ने गरेका छन् । चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाउने गरिएको छ । उसिनेको खानेकुरा भएकाले यसमा चिल्लो र अन्य कुनै पनि मिसावट हुँदैन । चिया र अचारसँग यो परिकार खाने चलन छ ।
मेचीनगर-१० की अम्ला राजवंशीले पनि विगत डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बेच्दै आउनुभएको छ । उहाँले दैनिक १५ किलोसम्म चामलको पीठोको भक्का बिक्री गर्ने गरेको बताउनुभयो ।
प्रातकालीन पदयात्रामा हिँड्ने मानिसहरु नै उहाँको पसलमा भक्का खाने नियमित ग्राहक हुन् । बालबालिका र वृद्धवृद्धासमेत भक्का खान पसलमा झुम्मिने गरेको उहाँले बताउनुभयो । “बिहानको चार/पाँच घण्टा त हो नि भक्का बेच्ने, दिउँसो अरु काम धन्धामा लाग्न समय मिलिहाल्छ”, उहाँले भन्नुभयो, “महिनामा रु ५० देखि रु ७५ हजारसम्मको भक्का बिक्री हुन्छ । यसबाट आधाभन्दा बढी नाफा भइहाल्छ ।”
जाडोयाममा माग बढ्ने हुँदा कात्तिकदेखि फागुनको पहिलो हप्तासम्म भक्काको व्यापार फस्टाउने गरेको स्थानीय व्यापारी बताउँछन् । झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का बिक्री गर्ने पसलको सङ्ख्या धेरै देखिने गरेको छ । भक्काको व्यापारले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । नयाँ पुस्ता भने भक्काको व्यापारमा आकर्षित देखिएका छैनन् ।
“झापाको गल्ली र चोकमा जाडो सिजनमा जताततै भक्का खान पाइदोरहेछ”, मेची बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्नुभएकी तेह्रथुमको फेदाप-१ की १९ वर्षीया रमिला लिम्बूले भन्नुभयो, “भद्रपुरमा हामी हरेक बिहान क्याम्पस जानुअघि चियासँगै भक्काको खाजा खाने गर्छौँ । बिरे नुन मिसाएको टमाटर र खुर्सानीको अचारसँग भक्का चोभेर खाँदा गज्जबको स्वाद मिल्छ ।”
विद्यालय र क्याम्पस जाने विद्यार्थी र बिहानी पदयात्रा गर्ने सर्वसाधारण भद्रपुरका गल्लीहरुमा भक्का बेच्न राखिएका फुटपाथ पसलमा झुम्मिने गरेको पाइन्छ । पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचान नै बनिसकेको भक्काको रैथाने स्वादलाई प्रवर्द्धन गर्न झापामा बर्सेनि ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ ।