कात्तिक १४, काठमाडौं । पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी भएका थिए ।
शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिका र दियोपोष्टको कार्यालयमा धरपकड गर्ने प्रयास गरेको थियो । सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका पत्रकारको रिहाइका लागि पत्रकार महासंघका प्रतिनिधिसहितका सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए । चौतर्फी विरोधपछि तीनै पत्रकारलाई प्रहरीले रिहा गरेको थियो ।
प्रदर्शनका क्रममा पत्रकारहरुले विचौलिया—प्रधामन्त्री न्यायालय कनेक्सन छानविन गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संसद इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर लेखिएका प्लेकार्ड बोकेर बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतले प्रदर्शनलाई सम्बोधन गरे थिए ।