• २०८३ कार्तिक १४ गते शुक्रवार

समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलमार्फत समाधान खोज्न सरकारलाई काउन्सिलको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १३, काठमाडौं । विभिन्न सञ्चार माध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा यस घटनाप्रति आपत्ति जनाइएको छ ।

खनालका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति नलिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिजनक विषय हो। यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो । समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ ।

साथै, काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गरेको छ । यसका साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस