• २०८३ कार्तिक १३ गते बिहिवार

भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण पाँच ‘एस’ हक्की प्रतियोगिताको तयारी पूरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १२, झापा । नेपालमै पहिलो पटक झापाको भद्रपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण पाँच ‘एस’ हक्की प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुर नगर हक्की सङ्घको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगितामा सहभागी सबै टोली भद्रपुर आइपुगेको सङ्घका अध्यक्ष सरोजकुमार बस्नेतले जानकारी दिए ।

नेपाल न्युज बैंकसँग कुरा गर्दै अध्यक्ष बस्नेतले प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र सहभागी टोलीसमेत आइसकेकाले निर्धारित समयमै खेल सञ्चालन गरिने बताए । उनले नेपालमा हक्की खेलको विकास र विस्तार गर्ने उद्देश्यले चुनौतीका बीच प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

प्रतियोगितामा नेपालका आठ, भारतका तीन र बङ्गलादेशको एक गरी १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुदको विकास तथा युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका प्रचार विभागका रोहित काफ्लेले बताए । प्रतियोगिता सञ्चालनका लागि आफूहरूले जोखिम मोलेरसमेत तयारी गरेको उल्लेख गर्दै उनले यसले युवामाझ हक्की खेलको आकर्षण बढाउन र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको अनुमानित बजेट रु ३० लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि स्थानीय तह, उद्योग–व्यवसायी, सामाजिक सङ्घसंस्था तथा खेलप्रेमीबाट सहयोग जुटाइएको छ ।

विद्यालयको खेलमैदानलाई स्तरोन्नति गरी व्यवस्थित र बहुउपयोगी बनाइएको भावि रणनीति योजनासमेत अघि बढाइएको छ । त्यसका लागि १० लाख रुपैया खर्च भएको आयोजकका रोहित काफ्लेले बताए ।

प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको केन्द्रका रूपमा विकास गर्न, खेल पर्यटन प्रवद्र्धन गर्न तथा स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस