• २०८३ कार्तिक ११ गते मङ्गलवार

माइकल ज्याक्सनको शैलीमा देखिए भारतिय गायक शान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १०, काठमाडौं । भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय गीत ‘बिली जिन’ गाउनुका साथै उनका चर्चित नृत्य शैलीसमेत प्रस्तुत गरेका छन् । दुबईस्थित कोका–कोला एरिनामा आफ्नो ‘अल अफ मी टुर’ अन्तर्गत प्रस्तुति दिँदै शानले ज्याक्सनको चर्चित मुनवाकसहितका नृत्य प्रस्तुत गरेका हुन् । रोमान्टिक हिन्दी गीतका लागि परिचित शानको फरक शैलीको प्रस्तुतिले दर्शकलाई आश्चर्यचकित बनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कन्सर्टका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशंसकले उनको गायन र नृत्यको प्रशंसा गरेका छन् । प्रस्तुतिका क्रममा शानले ज्याक्सनको चर्चित हाउभाउ, टोपी प्रयोग गर्ने शैली र तीव्र नृत्य चालसमेत अनुकरण गरेका थिए ।

सामाजिक सञ्जाल एक्समा एक प्रशंसकले कन्सर्टको भिडियो साझा गर्दै शानप्रतिको आफ्नो किशोरावस्थाको आकर्षण फेरि जागेको प्रतिक्रिया दिएका छन् । शान्तनु मुखर्जी वास्तविक नाम भएका शान ‘तन्हा दिल’, ‘वो पहली बार’, ‘चाँद सिफारिस’, ‘जब से तेरे नैना’ र ‘बहती हवा सा था वो’ जस्ता लोकप्रिय गीतका गायक हुन् ।

विभिन्न सांगीतिक शैलीमा प्रस्तुति दिँदै आएका शानको दुबई कन्सर्टले उनलाई हिन्दी रोमान्टिक गीतभन्दा फरक अंग्रेजी पप संगीतमा समेत प्रस्तुत हुने गायकका रूपमा देखाएको छ । माइकल ज्याक्सनको गीत र नृत्य शैलीलाई पुनः प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय पप संगीतप्रतिको आफ्नो रुचिसमेत दर्शाएका छन् । एएनआई

Sharing

प्रतिक्रिया दिनुहोस