असोज २७, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले मंगलबार ओमानविरुद्ध खेल्दैछ । खेल बिहान ११:१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ । जारी त्रिदेशीय शृंखलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।

यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो । नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । तालिकाको शीर्ष ६ मा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ । अंक तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ ।
आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष ६ मा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन् । तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।