असोज २६, धनुषा । धनुषा प्रहरीले ध्वनि प्रदूषण गर्ने तथा हाईस्पीड कुटाउने २४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ट्राफिक नियम उल्लंघन गरेको आरोपमा तिनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

र्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । ठूलो आवाज निकाल्ने, तीव्र गतिमा जिगज्याग शैलीमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका मोटरसाइकलहरू कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये केहीमा नम्बर प्लेट नभएको र एउटा परीक्षण नम्बर प्लेट प्रयोग गरिएको मोटरसाइकलसमेत रहेको प्रहरीले जनाएको छ । ती मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले जनाएको छ । चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र लापरबाहीपूर्ण सवारी सञ्चालनका कारण दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रहरीले ट्राफिक व्यवस्थापन तथा सुरक्षा अभियानलाई तीव्रता दिएको हो ।
ट्राफिक नियमको पूर्ण पालना गरी सवारीसाधन चलाउन जिल्लावासीलाई डिएसपी खनालले आग्रह गरेका छन् । उनले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीको अभियानमा सहयोग गर्नसमेत अनुरोध समेत गरेका छन् ।