• २०८३ असोज २५ गते आइतवार

पहाड–तराईको घटस्थापना एवम दशैँमा खासै भिन्नता छैन : रामदयाल राकेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २५, काठमाडौं ।  संस्कृतिविद् राम दयाल राकेशले घटस्थापनामा जौं को जमरा राख्ने परम्परा दशैँको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पक्ष भएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले घटस्थापनाका दिन घरमा इष्टदेवता र कुलदेवताको स्थानमा जौं छरेर जमरा उमार्ने र विजयादशमीका दिन त्यसलाई आफूभन्दा सानाको शिरमा राखेर आशीर्वाद दिने परम्परा रहेको बताए।

‘घटस्थापनामा प्रत्येक घरमा आफ्नो इष्ट देवता, कुल देवता जहाँ राखिएको छ । त्यहाँ यो जौं वा अन्न राखिन्छ र त्यसलाई उमारिन्छ । १० दिन अर्थात विजयादशमीको दिनमा त्यसलाई प्रयोग गरिन्छ । साना मान्छेहरूको टाउकोमा पनि राखिन्छ,’ उनले भने।

राकेशका अनुसार विगतमा जमरा राख्ने तथा टीका लगाइदिने धार्मिक प्रक्रिया पूरा गर्न बाहुनहरू घरमा आउने चलन थियो । अहिले भने परिवारकै ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई जमरा लगाइदिएर आशीर्वाद दिने प्रचलन रहेको उनले बताए ।

उनले भने,‘पहिला पहिला बाहुनहरू आएर यो प्रक्रिया पूरा गर्थे । तर अचेल बाहुनहरू होइन आफैँले आफूभन्दा ज्येष्ठ मानिसहरूले आफूभन्दा सानो मान्छेहरूलाई आशीर्वाद दिनको लागि त्यसको प्रयोग गर्छन् ।’

उनका अनुसार जमरा उमार्न जौंबाहेक अन्य वस्तु मिसाउन आवश्यक हुँदैन । जौंलाई माटोमा छरेपछि आफैँ उम्रिने भएकाले त्यसमा अन्य वस्तु मिसाउँदा जमराको मौलिक महत्त्व नै हराउने उनको भनाइ छ ।

पहाड र तराईको दशैँमा खासै भिन्नता छैन

राकेशले पहाड र तराईमा दशैँ मनाउने परम्परामा धेरै भिन्नता नरहेको बताए। दुवै क्षेत्रमा जमरा उमार्ने, विजयादशमीमा टीका लगाउने र आशीर्वाद दिने चलन रहेको उनले उल्लेख गरे।तराईका प्रत्येक गाउँमा दुर्गाको मूर्ति नहुने भएकाले विभिन्न स्थानमा माटोको मूर्ति बनाएर पूजा गर्ने परम्परा रहेको उनले बताए। त्यस्ता स्थानमा दुर्गाको अस्थायी मूर्ति स्थापना गरी पूजा गरिने र मेला पनि लाग्ने गरेको उनको भनाइ छ।

‘मान्छेहरू रङ्गीचङ्गी पोशाक लगाएर आउँछन्। खास गरेर बच्चाहरू धेरै रमाउँछन्,’ उनले भने।

तराईमा रामलीलाको परम्परा घट्दै

राकेशका अनुसार तराईमा दशैँको अर्को विशेषता रामलीला प्रदर्शन गर्ने परम्परा हो। विगतमा दशैँका दसैँ दिन राती रामलीला देखाउने चलन रहेपनि अहिले यो परम्परा धेरै ठाउँमा बन्द भइसकेको उनले बताए ।

रामलीला मनोरञ्जनको माध्यम मात्र नभई धार्मिक तथा नैतिक शिक्षा प्राप्त गर्ने अवसरसमेत रहेको उनको भनाइ छ । राम र सीताको चरित्रबाट शिक्षा लिन सकिने भएकाले रामायणको पाठ तथा रामलीला प्रदर्शनको धार्मिक र सांस्कृतिक महत्त्व रहेको उनले बताए।

‘१० दिनसम्म रामलीला एउटा मनोरञ्जनको साधन पनि भयो। अर्को यसबाट मान्छेहरूले रामायणबाट, रामको चरित्रबाट, सीताको चरित्रबाट शिक्षा ग्रहण गर्ने,’ उनले भने।

राकेशका अनुसार तराईमा धेरैले आफ्नै घरमा जमरा राख्ने गर्छन्। घरमा जमरा राख्न इच्छा नभएकाहरूले दुर्गाको मूर्ति स्थापना गरिएको स्थानमा पनि जमरा राख्न सक्छन्।

Sharing

प्रतिक्रिया दिनुहोस