• २०८३ असोज २० गते मङ्गलवार

जेनजी आन्दोलनको क्रममा घरमा तोडफोड र आगजनी गर्ने रंजन सिंह जेल चलान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २०, काठमाडौं । जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा रंजन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत पर्साले आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा राजपुतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। न्यायाधीश सरिता रायमाझीको एकल इजलासले उनलाई वीरगञ्ज कारागार पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा राजपुतसहितको समूहले अनिशमान सिंहको निजी घरमा प्रवेश गरी तोडफोड र आगजनी गरेको आरोप छ। घटनासम्बन्धी जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

राजपुतलाई यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। शुक्रबार धरौटीमा छुटेलगत्तै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो। त्यसपछि अनिशमान सिंहको घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी कसुरमा अदालतमा उपस्थित गराइएको थियो।

प्रहरीले राजपुत ‘हिन्दु सम्राट सेना’को उपाध्यक्षका रूपमा सक्रिय रहेको दाबी गर्दै धर्मको नाममा आतंक सिर्जना गर्ने गतिविधिमा समेत संलग्न रहेको आरोप लगाएको छ। उक्त विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनामा यसअघि ‘अब्बु’ नामले चिनिने महमद अब्बु हुसेन अर्थात् अयुब हुसेन पनि अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन्।

जेन–जी आन्दोलनका क्रममा वीरगञ्जमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनामध्ये अनिशमान सिंहको निवासमा भएको आक्रमणबारे प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अनिशमान सिंह वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका छोरा हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस