• २०८३ असोज २० गते मङ्गलवार

कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवालको उम्मेदवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १९, काठमाडौं ।  चर्चित लोकदोहोरी गायक, सर्जक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। रामेछापबाट लोकप्रिय मतका साथ खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले कलाकारिता, सामाजिक क्षेत्र र युवासँगको आफ्नो लामो सम्बन्धलाई राजनीतिक जिम्मेवारीसँग जोड्दै उम्मेदवारी दिएका हुन्।

लोकदोहोरी क्षेत्रमार्फत देशभर पहिचान बनाएका कटुवाल पछिल्लो समय कांग्रेसको संगठनात्मक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। कला क्षेत्रबाट स्थापित जनसम्बन्धलाई समाजसेवा र राजनीतिक जिम्मेवारीसँग जोड्ने उद्देश्यका साथ आफू कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन खोजेको उनले बताए।

रामेछापको उमाकुण्ड गाउँपालिका-३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवाल १५औँ महाधिवेशनका लागि खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। महाधिवेशन प्रतिनिधिमा प्राप्त विश्वासलाई थप जिम्मेवारीका रूपमा लिँदै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय लिएका हुन्।

कटुवालको मुख्य प्राथमिकता रामेछापको आवाजलाई कांग्रेसको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउनु र युवालाई पार्टीको मूलधारमा सक्रिय बनाउनु रहेको छ। उनका अनुसार महाधिवेशन प्रतिनिधि केन्द्रमा पुगेर मतदान गर्ने भूमिकामा मात्र सीमित हुनु हुँदैन; आफ्नो क्षेत्रका समस्या, जनताको अपेक्षा र संगठनको आवश्यकतालाई पार्टी नेतृत्वसम्म पुर्‍याउनु पनि प्रतिनिधिको महत्त्वपूर्ण जिम्मेवारी हो।

“केन्द्रीय महाधिवेशन प्रतिनिधि भनेको केन्द्रमा भोट हाल्न जाने मात्र होइन, आफ्नो क्षेत्रको आवाज केन्द्रसम्म पुर्‍याउने र पार्टीभित्र आफ्नो भूगोलको प्रभावकारी उपस्थिति स्थापित गर्ने माध्यम पनि हो।” — प्रकाश कटुवाल

कटुवालले कांग्रेसको संगठनलाई समयअनुकूल, चलायमान र जनतासँग जोडिएको बनाउन युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका छन्। नयाँ पुस्तालाई पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा अवसर दिनुपर्ने र कार्यकर्ताका समस्यालाई नेतृत्व तहसम्म पुर्‍याउन आफूले भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उनको राजनीतिक सक्रियता पछिल्ला वर्षहरूमा कांग्रेसका विभिन्न गतिविधिमा पनि देखिँदै आएको छ। कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनको तयारीका क्रममा कटुवाल खुलेरै सक्रिय भएका थिए। त्यसयता कांग्रेसको संगठनात्मक काममा उनको सक्रियता थप बढेको छ।

कलाकारितासँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील कटुवाल राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्षका रूपमा कलाकारको हकहित र सांगीतिक क्षेत्रको विकासमा कार्यरत छन्। कला क्षेत्रमार्फत बनाएको व्यापक सम्पर्क र युवामाझको पहुँचलाई अब पार्टी संगठन र जनसेवामा उपयोग गर्ने उनको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस