असोज २०, काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले १५औँ महाधिवेशनमा खसआर्यतर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी घोषणा गर्दै केसीले पार्टीभित्रको विकृति, विसंगति, अनियमितता र मनपरीतन्त्र अन्त्य गर्दै कांग्रेसको शुद्धीकरण र सुदृढीकरण आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।

उनले आफूले लामो समयदेखि पार्टीभित्र नेतृत्वका कमजोरी र गलत निर्णयविरुद्ध स्पष्ट धारणा राख्दै आएको बताए । केसीले भने, ‘मैले नेपाली कांग्रेस पार्टीभित्र धेरै लामो समयदेखि काम गर्दै आएको छु । २०३६ सालको बहुदल र निर्दलबीचको निर्वाचन प्रतिस्पर्धादेखि नै म बहुदलको पक्षमा लागेँ । २०४२ सालको सत्याग्रहमा पहिलोपटक जेल जीवन बिताएँ। त्यतिबेला मेरो उमेर १८–२० वर्षभन्दा बढी थिएन ।’
उनले २०४६ सालको जनआन्दोलनमा न्युरोडमा कांग्रेसको जुलुस निकाल्ने क्रममा पहिलोपटक कांग्रेसको झण्डा देखाउने व्यक्तिसमेत आफू रहेको बताए । २०६२/६३ को जनआन्दोलनमा गोंगबु क्षेत्रको आन्दोलनलाई कांग्रेसको तर्फबाट नेतृत्व गरेको पनि उनले स्मरण गरे । केसीले पार्टीभित्र विकृति र विसंगति देखिएमा नेतृत्वसँग स्पष्ट रूपमा प्रश्न उठाउँदै आएको बताए । ‘पार्टीभित्र भएको विकृति, विसंगति, अनियमितता, मनपरीतन्त्र र नेतृत्वबाट भएका कमी–कमजोरी तथा गल्तीबारे मैले स्पष्ट विचार राख्दै आएको छु । कहिल्यै पदका लागि होइन, पार्टीलाई सुदृढ र शुद्धीकरण गर्नुपर्छ भनेर लागेको हुँ,’ उनले भने ।
उनले कांग्रेसलाई आगामी दिनमा अभिभावकीय पार्टीका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे। पार्टी संगठनलाई सशक्त बनाउँदै नयाँ विचार र नयाँ ढङ्गबाट २१औँ शताब्दीअनुकूल अघि बढाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ। केसीले महाधिवेशन प्रतिनिधिहरूबाट आफ्नो उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया पाएको बताए । नेतृत्वले गल्ती गर्दा कार्यकर्ताले चुप लागेर बस्न नहुने भन्दै केसीले आफू दास वा अवसरवादी नभएको बताए ।
केसीले पार्टी नेतृत्वबाट हुने कमजोरीलाई केन्द्रीय समितिमै स्पष्ट रूपमा उठाउने र सुधारका लागि दबाब दिने बताए । साथै देशभरका कांग्रेस कार्यकर्तामाथि अन्याय हुन नदिने उनको प्रतिबद्धता छ । उनले कांग्रेसलाई नयाँ विचार र नयाँ शैलीसहित अघि बढाउनुपर्नेमा जोड दिँदै आफूले पार्टीभित्र उठाउँदै आएको मुद्दालाई अब पूर्णता दिन उम्मेदवारी दिएको बताए ।