असोज १६, सुर्खेत । जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको जडिबुटीले स्थानीयको जीविकोपार्जन र रोजगारीमा योगदान पुर्याएको छ ।

जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको सरकारी तथा गैरसरकारी कार्यालयहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा जडिबुटी संकलनबाट स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् ।
डिभिजन वन अधिकृत दीपेश केसीले गोष्ठीमा वन अतिक्रमण नियन्त्रण, वन डढेलो व्यवस्थापन, बिरुवा उत्पादन, वृक्षारोपण, वन्यजन्तु अपराध नियन्त्रण, जडिबुटी निकासी तथा राजस्व संकलनलगायतका क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार कार्यालयले उक्त आर्थिक वर्षमा ८२÷३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
जाजरकोटबाट गत आर्थिक वर्षमा टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज र धुपीको पातलगायत ३७ प्रजातिका जडिबुटी निकासी भएका छन् । तीमध्ये टिमुर र झ्याउबाट मात्रै उल्लेख्य आम्दानी भएको कार्यालयको तथ्यांक छ ।
निजी आवादी, सामुदायिक वन र सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट गरी १ लाख ९८ हजार ७५९ किलो टिमुर निकासी भएको छ ।
निजी आवादीबाट १ लाख ३ हजार ५५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारी वन क्षेत्रबाट ४२ हजार ६८७ किलो टिमुर संकलन भएको हो ।
संकलनस्थलमै प्रतिकिलो ५५० देखि ६५० रुपैयाँसम्म बिक्री हुने टिमुरको औसत मूल्य ६०० रुपैयाँ मान्दा स्थानीयले यसबाट मात्रै करिब १२ करोड रुपैयाँ आम्दानी गरेका छन् । त्यस्तै झ्याउ संकलनबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन क्षेत्र नै ग्रामीण अर्थतन्त्रको आधार
जाजरकोटको कुल भूभागको ६०.१८ प्रतिशत वन क्षेत्रले ओगटेको छ । वन, वन्यजन्तु, जडिबुटी तथा जैविक विविधताले धनी जिल्लामा जडिबुटी संकलन स्थानीयको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ ।
जडिबुटी संकलनले स्थानीय समुदायको आयआर्जन, रोजगारी, जीविकोपार्जन तथा सामुदायिक विकासमा योगदान पुर्याएको डिभिजन वन अधिकृत केसीले बताए । उनका अनुसार जडिबुटीको व्यवस्थित संकलन र उत्पादन विस्तार गर्न सके ग्रामीण अर्थतन्त्रमा यसको योगदान थप बढाउन सकिन्छ ।
जडिबुटीबाहेक वन क्षेत्रबाट प्राप्त राजस्व तथा सामुदायिक वनको आम्दानी पनि उल्लेख्य रहेको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा १ करोड ३ लाख ५८ हजार ३५४ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै ६८ लाख १६ हजार १६५ रुपैयाँ मूल्य अभिवृद्धि कर र सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९३४ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ ।
जडिबुटीबाट करोडौँ आम्दानी भइरहे पनि वन संरक्षण र व्यवस्थापनमा विभिन्न चुनौती देखिएका छन् । वन डढेलो, अतिक्रमण, मानव–वन्यजन्तु द्वन्द्व तथा अवैध वन पैदावारको चोरी निकासीलाई कार्यालयले प्रमुख चुनौतीका रूपमा औँल्याएको छ ।
कार्यालयको अभिलेखअनुसार जिल्लामा १ हजार २२५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । गत आर्थिक वर्षमा वन तथा वन्यजन्तु अपराधसम्बन्धी पाँचवटा मुद्दा अभियोजन भई फछ्र्योट भएका छन् ।
सोही अवधिमा ३८ वटा सामुदायिक वनमा ५५ पटक डढेलो लागेको थियो । सुरक्षा निकाय, वन उपभोक्ता, स्थानीय तह र समुदायको सहभागितामा डढेलो नियन्त्रण गरिएको कार्यालयले जनाएको छ ।
जिल्लामा बाँदर, भालु, जंगली बँदेल र चितुवाबाट बालीनाली, पशुधन तथा मानवीय क्षति हुने गरेको छ । वन्यजन्तुबाट पीडितलाई गत आर्थिक वर्षमा तीन लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको केसीले जानकारी दिए ।
जडिबुटी उत्पादन तथा वन क्षेत्र विस्तारका लागि डिभिजन वन कार्यालयले वृक्षारोपण कार्यक्रमलाई समेत अघि बढाएको छ ।
जडिबुटी विकास कार्यक्रमअन्तर्गत निजी आवादी, सामुदायिक वन, कबुलियती वन तथा सार्वजनिक जग्गाको करिब ४० हेक्टर क्षेत्रमा टिमुर, रिठ्ठा, सिसौ, खयर, बोधिचित्त, तेजपात, ओखर, चिउरी र बोझोलगायतका करिब ५५ हजार बिरुवा रोपिएको छ ।
सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन उपभोक्ता समूह तथा निजी जग्गाधनीमार्फत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, डिभिजन वन कार्यालय परिसरमा रहेको बहुवर्षीय नर्सरीमा करिब ५० हजार एकवर्षीय तथा बहुवर्षीय बिरुवा उत्पादन गरिएको र त्यसमध्ये करिब ११ हजार बिरुवा वितरण गरिएको छ ।
जडिबुटीको व्यावसायिक उत्पादन, दिगो संकलन र वन संरक्षणलाई सँगसँगै अघि बढाउन सके जाजरकोटको प्राकृतिक स्रोत स्थानीयको आयआर्जन र समृद्धिको थप आधार बन्न सक्ने देखिन्छ ।