• २०८३ असोज १४ गते बुधवार

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १४, काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिका भैरव चारधारे सडक खण्डमा असोज ११ गते बिहान पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु रहेको छ । त्यस्तै, बागमती गाउँपालिका–३ ताकुर्चेस्थित कान्तिलोकपथमा असोज १२ गते दिउँसो गएको पहिरोका कारण सडक अझै पूर्णरूपमा अवरुद्ध छ।

मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । भदौ १० गतेदेखि नै अवरुद्ध भएका ती सडकहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द रहने जनाइएको छ ।

बाढीका कारण बेसीसहर हुँदै खाङसार जाने सडक खण्ड पूर्ण रूपमा बन्द अवस्थामा छ।

जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोरमा असोज ९ गते साँझ खसेको पहिरो पन्छाएपछि हाल यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

म्याग्दीका दुई प्रमुख सडक खण्ड पहिरोका कारण पूर्णरूपमा ठप्प छन् । रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेवगरस्थित बेनी–जोमसोम सडक खण्ड र बेनी नगरपालिका–०४ घुमाउने भीरस्थित बेनी–दरबाङ सडक खण्डमा असोज १० गते खसेको पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध बनाएको छ ।

थासाङ गाउँपालिका–०४ स्थित जोमसोम–कोरला सडक खण्ड पनि असोज १० गतेको पहिरोका कारण पूर्णरूपमा बन्द रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस