साउन १८ , काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भ्रष्टाचारसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई आठ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ ।
परिषद्को भ्रष्टाचारसम्बन्धी न्यायाधिकरणले २६ वर्षीय रेड्डीलाई आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । उनीविरुद्ध सन् २०२५ मा संयुक्त अरब इमिरेट्समा भएको आबुधाबी टी-१० प्रतियोगितासँग सम्बन्धित आरोप लागेका थिए । उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई भ्रष्टाचारसम्बन्धी तोकिएको निकायको जिम्मेवारी दिएको थियो ।
रेड्डीमाथिको प्रतिबन्ध २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । सोही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए ।
न्यायाधिकरणले उनलाई खेलको नतिजा वा गतिविधिलाई अनुचित रूपमा प्रभावित पार्ने प्रयास गरेको, अन्य खेलाडीलाई त्यसमा संलग्न गराउन प्रयास गरेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट प्रमाण हुन सक्ने सन्देश र विवरण मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गरेको छ ।
रेड्डीले अमेरिकाको राष्ट्रिय टोलीबाट चार वटा अन्तर्राष्ट्रिय टी-२० खेल खेलेका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत उत्तर अमेरिका टी-२० प्रतियोगितामा केम्यान टापुविरुद्धको खेलबाट गरेका थिए ।
