• २०८३ असोज १३ गते मङ्गलवार

टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ को उपाधि चैतन्य पाठशालालाई

लोकराज जोशी पढ्न लाग्ने समय : ४ मिनेट

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा फाप्ला क्रिकेट मैदान, धनगढीमा सञ्चालन भएको टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ को उपाधि चैतन्य पाठशालाले जितेको छ। मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा चैतन्य पाठशालाले सत्यवती एकेडेमी ‘बी’लाई १३ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको चैतन्य पाठशालाले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। चैतन्यका लागि किरनकुमार ठगुन्नाले १७ बलमा अविजित ४० रन बनाए। उनले १ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै रवि दमाईले ८ बलमा २५ रन जोड्दा १ चौका र ३ छक्का प्रहार गरे। विरेन्द्र वमले १६ बलमा २४ रन बनाए भने ३ छक्का प्रहार गरे। दीपक बोहराले ६ बलमा १२ रनको योगदान दिए, जसमा १ चौका र १ छक्का सामेल थियो।

सत्यवती एकेडेमी ‘बी’का बलरमध्ये अर्जुन बिकले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। १ सय १६ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमी ‘बी’ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो। उत्कृष्ट सुरुवात गरे पनि लक्ष्यसम्म पुग्न नसक्दा सत्यवती उपविजेतामै सीमित भयो। सत्यवतीका लागि आदिल अन्सारीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३६ रन बनाए। उनले १ चौका र ५ छक्का प्रहार गरे। गौतम केसीले ६ बलमा अविजित १४ रन तथा दिवान पुनले ४ बलमा अविजित १२ रन बनाए। गौतमले २ तथा दिवानले पनि २ छक्का प्रहार गरे। अभिषेक कार्कीले ७ बलमा ११ रन र सुजन गौतमले ९ बलमा १० रनको योगदान दिए।

चैतन्य पाठशालाका बलरहरूले पनि महत्वपूर्ण समयमा विकेट निकाल्दै टोलीलाई उपाधि दिलाए। हिक्मत महराले २ ओभरमा २२ रन खर्चेर २ विकेट, धिरज साउँदले २ ओभरमा २२ रन खर्चेर २ विकेट तथा सौर्य श्रेष्ठले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। यससँगै चैतन्य पाठशालाले फाइनलमा १३ रनको जित निकाल्दै टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ को उपाधि आफ्नो नाममा गरेको हो।

किरनकुमार ठगुन्ना प्लेयर अफ दी म्याच
फाइनलमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका चैतन्य पाठशालाका किरनकुमार ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भए। उनले १७ बलमा अविजित ४० रन बनाउँदै टोलीको प्रतिस्पर्धात्मक स्कोर निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए।

अर्जुन बिक बने उत्कृष्ट खेलाडी
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सत्यवती एकेडेमी ‘बी’का अर्जुन बिकले उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट बलर तथा उत्कृष्ट खेलाडी दुवैको अवार्ड हात पारे। अर्जुनले उत्कृष्ट बलरतर्फ नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै उनले नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै बझाङका लोकेन्द्र चन्द उत्कृष्ट ब्याटर घोषित भए। उनले उत्कृष्ट ब्याटरतर्फ नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

विजेता चैतन्यलाई ४ लाख १ हजार १११ रुपैयाँ
च्याम्पियन बनेको चैतन्य पाठशालाले नगद ४ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सत्यवती एकेडेमी ‘बी’ले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

समापन समारोहमा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति
प्रतियोगिताको समापन समारोह कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टको सभापतित्वमा सम्पन्न भएको थियो। समापन समारोहमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाही र सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश बहादुर सिंह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

टी–१० प्रारूपमा सञ्चालन भएको प्रतियोगिताले छोटो समयमै रोमाञ्चक र प्रतिस्पर्धात्मक क्रिकेट प्रस्तुत गर्दै खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको सफल आयोजनाले सुदुरपश्चिममा राष्ट्रियस्तरको क्रिकेट गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुगेको विश्वास गरिएको छ।

अन्ततः फाइनलमा १३ रनको रोमाञ्चक जितसँगै चैतन्य पाठशालाले टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ को उपाधि उचाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस