• २०८३ असोज १० गते शनिवार

बजार खोज्दै बाजुराको स्याउ धनगढी आइपुग्यो

लोकराज जोशी पढ्न लाग्ने समय : ३ मिनेट

असोज ९, बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानले उत्पादन गरेको अर्गानिक स्याउ बजार खोज्दै धनगढी आइपुगेको छ। स्थानीय बजारमा उत्पादनअनुसारको माग र उचित मूल्य नपाएपछि किसानले बगैँचाबाट स्याउ संकलन गरी सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी ल्याएका हुन्।

स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न क्षेत्रमा किसानले व्यावसायिक रूपमा उत्पादन गरेको स्याउ पछिल्लो समय बजारको समस्याका कारण किसानका लागि चुनौती बन्दै गएको छ। उत्पादन राम्रो भए पनि स्थानीय बजारमा पर्याप्त बिक्री नहुँदा स्याउ लामो समयसम्म बारीमै राख्नुपर्ने र समयमै बिक्री हुन नसके कुहिने अवस्था रहेको किसानहरूले बताएका छन्। किसान दानबहादुर रावलका अनुसार यसपटक सात जना किसानको बगैँचाबाट स्याउ संकलन गरी धनगढी ल्याइएको हो। स्थानीयस्तरमा उपभोक्ताको माग सीमित रहेको र उत्पादनको तुलनामा बजार विस्तार हुन नसक्दा स्याउलाई धनगढीको बजारसम्म ल्याउनुपरेको उनले बताए।

“स्याउ उत्पादन राम्रो भएको छ, तर उत्पादन गरेपछि बिक्री गर्ने बजारको समस्या छ। स्थानीय बजारमा मात्रै निर्भर हुँदा किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्,” रावलले भने।

बाजुराको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्याउलाई स्थानीय किसानहरूले अग्र्यानिक तथा स्वादिलो उत्पादनका रूपमा बजारमा लैजाने प्रयास गरिरहेका छन्। तर उत्पादनपछि बजारसम्म पुर्‍याउने व्यवस्थित संयन्त्र, संकलन केन्द्र, ढुवानी व्यवस्थापन तथा भण्डारणको अभावले किसानले अपेक्षित लाभ लिन नसकेको उनीहरूको गुनासो छ।

किसानहरूका अनुसार स्याउ टिप्ने समय छोटो हुने भएकाले उत्पादनलाई समयमै संकलन, ग्रेडिङ, प्याकेजिङ र बजार व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणमा स्याउ नोक्सान हुने गरेको छ। बजारको सुनिश्चितता नहुँदा कतिपय किसानले बाध्य भएर व्यापारीलाई सस्तो मूल्यमा स्याउ बिक्री गर्नुपर्ने अवस्था समेत रहेको उनीहरू बताउँछन्।

विशेषगरी उत्पादनको समयमा स्थानीय बजारमा मागभन्दा आपूर्ति बढी हुने भएकाले मूल्यमा गिरावट आउने गरेको किसानहरूको भनाइ छ। त्यसमाथि बाजुराबाट धनगढीलगायतका बजारसम्म स्याउ ढुवानी गर्दा लाग्ने खर्चले किसानको नाफामा थप असर पार्ने गरेको छ।

किसानहरूले स्याउको उत्पादन बढाउनसँगै बजारीकरणमा पनि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्। उनीहरूले गाउँपालिकासहित प्रदेश र स्थानीय सरकारसँग उचित मूल्य निर्धारण, व्यवस्थित संकलन केन्द्र स्थापना, शीतभण्डार निर्माण तथा बजारको सुनिश्चितता गर्न आग्रह गरेका छन्।

किसानका अनुसार गाउँमै संकलन केन्द्र स्थापना गरी स्याउलाई ग्रेडिङ तथा प्याकेजिङ गरेर ठूला बजारमा पठाउने व्यवस्था गर्न सके उत्पादनको क्षति घटाउनुका साथै किसानले राम्रो मूल्य प्राप्त गर्न सक्छन्। त्यस्तै, शीतभण्डारको व्यवस्था भए उत्पादनको तत्काल बिक्री गर्नुपर्ने बाध्यता हट्ने र लामो समयसम्म सुरक्षित राखेर बजारको मागअनुसार बिक्री गर्न सकिने उनीहरूको अपेक्षा छ।

बाजुरामा फलफूल खेतीको सम्भावना उच्च भए पनि उत्पादनपछिको व्यवस्थापन र बजार पूर्वाधार कमजोर हुँदा किसानले अपेक्षित प्रतिफल पाउन नसकेको देखिन्छ। त्यसैले उत्पादनमा मात्र नभई उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य शृंखला व्यवस्थित गर्न सके बाजुराको स्याउलाई सुदूरपश्चिमका प्रमुख बजार हुँदै अन्य जिल्लासम्म पुर्‍याउन सकिने सम्भावना रहेको किसानहरू बताउँछन्।

धनगढीमा स्याउ ल्याइएसँगै स्थानीय उपभोक्तालाई बाजुरामै उत्पादन भएको ताजा स्याउ उपलब्ध हुने भएको छ। किसानहरूले धनगढीका उपभोक्ता तथा व्यवसायीलाई स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका छन्।

बाजुराको स्याउले बजार खोज्दै धनगढीसम्मको यात्रा तय गर्नु केवल किसानको उत्पादन बिक्री गर्ने प्रयास मात्र नभई पहाडी क्षेत्रको कृषि उत्पादनलाई बजारसँग जोड्ने आवश्यकताको उदाहरणसमेत बनेको छ। उत्पादन बढ्दै जाँदा त्यसअनुसार बजार, भण्डारण र ढुवानीको पूर्वाधार विस्तार गर्न सके बाजुराका किसानको आम्दानी बढाउन तथा स्थानीय कृषि अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने देखिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस