• २०८३ असोज ८ गते बिहिवार

मधेश सुपर लिगको तयारी तीव्र, खेलकुद परिषद् र क्रिकेट पदाधिकारीबीच छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ८, जनकपुरधाम । मधेश प्रदेशमा आयोजना हुने मधेश सुपर लिगको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुसँग छलफल सम्पन्न भएको छ। मधेश प्रदेशमा क्रिकेटको विकास, प्रतियोगिताको व्यवस्थित सञ्चालन तथा लिगलाई सफल र प्रभावकारी बनाउन आवश्यक तयारीका विषयमा छलफल केन्द्रित रहेको थियो। लिगको आयोजना पूर्व गर्नुपर्ने पूर्वाधार व्यवस्थापन, खेलमैदानको तयारी, खेलाडी तथा टोली व्यवस्थापन, प्रतियोगिता सञ्चालनको समन्वयलगायतका विषयमा छलफल भएको बताइएको छ।

छलफलमा नेपाल क्रिकेट संघ (CAN) का उपाध्यक्ष रोशन कुमार सिंह, मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेयलगायत क्रिकेट क्षेत्रका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मधेश प्रदेशमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा प्रदेशस्तरीय फ्रेन्चाइज वा लिग अवधारणामा सञ्चालन हुने मधेश सुपर लिगले स्थानीय तथा प्रदेशस्तरका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। लिगमार्फत नयाँ प्रतिभाको पहिचानसँगै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने र मधेश प्रदेशको क्रिकेटलाई थप व्यावसायिक तथा व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

छलफलका क्रममा प्रतियोगिताको सफल आयोजनाका लागि मधेश खेलकुद परिषद्, नेपाल क्रिकेट संघ तथा प्रदेश र जिल्ला क्रिकेट संघबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो। प्रतियोगिता सञ्चालनका क्रममा आवश्यक पर्ने खेलमैदान, अभ्यासस्थल, खेलाडी तथा टोलीको व्यवस्थापन, प्राविधिक पक्ष, सुरक्षा, स्वास्थ्य तथा अन्य व्यवस्थापकीय विषयलाई समयमै सम्बोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

त्यस्तै, मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका क्रिकेट प्रतिभालाई लिगसँग जोड्दै स्थानीय खेलाडीको क्षमता विकास र प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने वातावरण सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

मधेश सुपर लिगलाई केवल एउटा क्रिकेट प्रतियोगिताका रूपमा मात्र नभई मधेश प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा उत्पादन र खेल पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको छ।

सम्बन्धित निकायबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै प्रतियोगिताको तयारीलाई चरणबद्ध रूपमा अघि बढाउने निष्कर्षसहित छलफल सम्पन्न भएको जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस