असोज ८, काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालयले बिहीबार बिहान साढे ७ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न स्थानमा लेदो र ढुङ्गासहितको पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएका हुन्।

प्रहरीका अनुसार खोटाङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान ६:४० बजे हलेसी तुवाचुङ नगरपालिका-१ स्थित दौतेखोलामा ढुङ्गासहित पहिरो खसेपछि यातायात सेवा अवरुद्ध हुन पुगेको हो।
यसैगरी, अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक पनि पहिरोका कारण बन्द भएको छ। बिहीबार बिहान ७:०९ बजे पाणिनी गाउँपालिका-२ स्थित ढुङ्ग्रेखोला नजिकै लेदोसहितको पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खण्डहरू खुलाउन र यातायात पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको छ।