पौष ०९, झापा । प्रहरीले झापाको दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५ का २१ वर्षीय सञ्जय तामाङ रहेका छन। विशेष सूचनाका आधारमा प्रहरीचौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले राई र बस्नेतलाई बुधबार बेलुका भद्रपुर–३ स्थित झोलुङ्गे पुलबाट मे२प ४३१८ नंको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा स्कुफ सिरप १०, नाइट्रोजन १०४ पिस, उइनपास मोफोट ७२ पिस, लुपिजेसिक आठ एम्पुल, फेनरागन आठ एम्पुल, डाइजेपाम आठ एम्पुल र गाँजा २०० ग्राम बरामद गरेको थियो ।
यस्तै विर्तामोड–१ स्थित शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मे८प ३४२८ नंको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा २६ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
प्रहरीले उनिहरु तिनै जनालाई नियन्त्रणमा लिएर बरामद लागुऔषध र मोटरसाइकलसहित थप अनुसन्धान भइरहेको छ ।