असोज ६, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, आजै विभिन्न चार वटा संसदीय समितिका बैठकहरू पनि आयोजना गरिएका छन्। संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। उक्त बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग समेत विचार-विमर्श गरिने जनाइएको छ।
सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यस्तै, बिहान ११:१५ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा देशमा स्वदेशी, वैदेशिक तथा निजी र सार्वजनिक लगानीको वर्तमान अवस्थाबारे छलफल हुनेछ। बैठकमा जलवायु परिवर्तनले लगानीको वातावरणमा पारेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिक लगानी सम्मेलनको व्यवस्थापन र अनुकूल लगानी वातावरण निर्माणका लागि आवश्यक नीतिगत सुधारका विषयमा गहन मन्थन गरिनेछ।
उता बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। उक्त बैठकमा प्रस्तावित ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा सम्बन्धित विज्ञहरूसँग आवश्यक परामर्श एवं छलफल गरिने संसद् सचिवालयले जनाएको छ।