असोज ६, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज (मङ्गलबार) अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बिहीबार महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ। न्युयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जन र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्चपदस्थ अधिकारीहरू नेपाली टोलीमा समावेश छन्। परराष्ट्रमन्त्री खनालको टोली भने विभिन्न मन्त्रीस्तरीय बैठक र छलफलमा सहभागी हुन यसअघि नै न्युयोर्क पुगिसकेको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले यसपटकको महासभामा ‘जलवायु न्याय’ र ‘पर्वतीय मुद्दा’लाई मुख्य प्राथमिकतामा राखेको छ। महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जनधनको क्षति, हिमाली क्षेत्रमा परेको असर तथा जलवायु वित्तका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउने तयारी गरेको छ।
विशेष गरी जोखिमयुक्त मुलुकहरूलाई थप ऋणको भार थप्नुको साटो जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्नुपर्ने र ‘हानि-नोक्सानी कोष’ (लस एन्ड ड्यामेज फन्ड) मार्फत उपयुक्त आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग नेपालले राख्नेछ।
प्रधानमन्त्री शाह महासभामा सहभागी भई असोज १० गते शनिबार काठमाडौं फर्किने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल असोज १३ गते स्वदेश फर्किनेछन्।