• २०८३ असोज ५ गते सोमवार

संसद्का तीन विषयगत समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा विषयगत समितिको बैठक बस्दै छ। सिंहदरबारमा आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।

बिहान ९ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट देखिएका समस्या, चुनौती र कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ। बैठकमा कृषि, वन तथा वातावरणमन्त्री, नार्कका कार्यकारी निर्देशक र मातहतका विभिन्न निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।

यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीप्रभावित क्षेत्रको विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानवअधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल हुने कार्यसूची छ।

यसैगरी, बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी र पहिरोबाट बढी प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट र धादिङ) मा जनजीवन तथा पूर्वाधारमा पुगेको क्षति, पुनःस्थापना, पुनर्निर्माण र त्यसका लागि आवश्यक लगानी व्यवस्थापनका सम्बन्धमा गहन छलफल हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस