असोज २, काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, बागमती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका केही, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ। यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवं उद्धार र राहतमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन र महाशाखाको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।