• २०८३ भाद्र ३० गते मङ्गलवार

अब एटीएमबाट १०० रुपैयाँको नोट पनि निकाल्न मिल्ने

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम (ATM) मार्फत नगद रकम निकाल्दा सेवाग्राहीले रु. १०० दरका नोटसमेत प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनमा आवश्यक व्यवस्थापन गरी सेवाग्राहीको सुविधाअनुसार रु. १०० दरका नोट उपलब्ध हुने व्यवस्था गर्न निर्देशन दिएको हो।

यस व्यवस्थासँगै अब सानो रकम आवश्यक पर्ने सेवाग्राहीलाई एटीएमबाट रकम निकाल्न थप सहज हुने अपेक्षा गरिएको छ। यसअघि अधिकांश एटीएमबाट निश्चित दरका ठूला नोट मात्र उपलब्ध हुने भएकाले सानो रकम आवश्यक पर्दा सेवाग्राहीले बैंक काउन्टर वा अन्य माध्यममा निर्भर हुनुपर्ने अवस्था थियो।

रु. १०० को नोटसमेत एटीएमबाट निकाल्न सकिने भएपछि दैनिक उपभोगका साना खर्च, यातायात, खुद्रा कारोबार तथा तत्काल आवश्यक पर्ने रकम व्यवस्थापनमा सर्वसाधारणलाई सुविधा पुग्ने विश्वास गरिएको छ। नेपाल राष्ट्र बैंकको यो निर्देशनले एटीएम सेवामा नगद व्यवस्थापनलाई थप सेवाग्राहीमैत्री बनाउने र डिजिटल बैंकिङसँगै नगद कारोबार गर्ने ग्राहकका लागि समेत सुविधा विस्तार गर्ने अपेक्षा गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको निर्देशनअनुसार आफ्ना एटीएममा आवश्यक प्राविधिक तथा नगद व्यवस्थापन मिलाउँदै जानेछन्। यससँगै एटीएम सेवाबाट उपलब्ध हुने नोटको विविधता बढ्ने र सेवाग्राहीले आफ्नो आवश्यकताअनुसार रकम निकाल्न सक्ने अवस्था थप सहज बन्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस