• २०८३ जेष्ठ २६ गते मङ्गलवार

कस्तो छ रासायनिक मलको मौज्जत अवस्था ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २६,  काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति, मौज्दात र बिक्रीको विस्तृत विवरण सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने वार्षिक लक्ष्य राखेकोमा हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टनको टेण्डर भइसकेको मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमका लागि कुल २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत देशभर मलको वितरण र व्यवस्थापन भइरहेको छ ।

आर्थिक बर्ष २०८१/८२ को ४ लाख ६५ हजार मेट्रिक टन मल मौज्जात रहेकोमा हाल एक लाख ४० हजार ८४१ मेट्रिक टन मल मौज्जत रहेको मन्त्रालयले जानकारी दिएको छ । जस अनुसार ८० हजार ९०० मेट्रिक टन युरिया, ४० हजार ७६० मेट्रिक टन डिएपी र १९ हजार १८० पोटास हाल कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमा मौज्जत रहेको छ ।

मन्त्रालयका अनुसार वाह्य मुलुकबाट नेपालतर्फ आउँदै गरेको मलको परिमाण ३ हजार ३३५ मेट्रिक टन रहेको छ । यसमा ४८८.६५ मेट्रिक टन युरिया र २ हजार ८४६.४ मेट्रिक टन डीएपी मल रहेको छ, जुन कृषि सामग्री कम्पनी लिमिटेडमार्फत आपूर्ति भइरहेको छ ।

कृषि मन्त्रालयले समयमै बजेट व्यवस्थापन र टेण्डर प्रक्रिया अघि बढाइएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष मलको आपूर्ति र वितरण प्रणाली निकै सुदृढ हुने दाबि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस