• २०८३ भाद्र ३० गते मङ्गलवार

माइतीको आँगनदेखि सामाजिक सञ्जालसम्मः बदलिँदो तीज

जनक श्रेष्ठ पढ्न लाग्ने समय : ६ मिनेट
भदौ २९, लमजुङ। तीज भन्नेबित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चुरा, पोते, नाचगान र दरको सम्झना आउँछ तर तीज केवल एउटा चाडको नाम होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र समयसँगै बदलिँदै गएको सामाजिक अवस्थाको कथा पनि हो । एक समय थियो, तीज विवाहित चेलीका लागि माइती पुग्ने दुर्लभ अवसर थियो ।
वर्षभरि कर्मघरको काममा व्यस्त हुने बुहारीका लागि माइतीको आँगनमा पुगेर दिदीबहिनी भेट्नु, सुखदुःख साट्नु र मनका कुरा गीतमार्फत पोख्नु नै तीजको ठूलो खुसी थियो । अहिले भने तीजको स्वरूप फेरिएको छ । यातायात र सञ्चारको सुविधा बढेको छ । माइती पुग्न कसैको बाटो कुरिरहनु पर्दैन । तीज आउनुअघि नै दर खाने कार्यक्रम सुरु हुन्छ । साथी तथा दिदीबहिनी रेस्टुरेन्ट र समारोहमा भेटिन्छन् । तीजका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छरिन्छन् ।
दोर्दी गाउँपालिका–३ की ७० वर्षीया यशोदा घिमिरेका लागि तीजको सम्झना अझै माइतीसँग जोडिएको छ । उहाँका अनुसार पहिले तीज विवाहित चेलीका लागि माइती भेट्ने प्रमुख अवसर थियो । विवाहपछि टाढाटाढा पुग्ने र वर्षभरिमा माइती आउजाउ गर्न सहज नहुने भएकाले तीजमा माइती जान पाउनु ठूलो अवसर मानिन्थ्यो । त्यतिबेला सवारीसाधनको सुविधा थिएन । टाढा माइती जान घण्टौँ हिँड्नुपथ्र्यो ।
तीज आउन केही दिनअघि नै बाबु, दाजु वा भाइ चेलीलाई लिन कर्मघर पुग्ने चलन थियो । कतिपय चेली आफैँ पनि माइती जाने गर्थे । “त्यतिबेला अहिले जस्तो सवारीसाधन र सञ्चारका माध्यम थिएनन् । टाढा भएका माइतीसम्म पुग्न घण्टौँ हिँड्नुपथ्र्यो । त्यसैले तीजमा माइती भेट्नु नै ठूलो कुरा हुन्थ्यो,” उहाँले भन्नुभयो । माइती पुगेपछि दिदीबहिनी तथा चेलीबेटी एकै ठाउँमा जम्मा हुन्थे । नाचगान हुन्थ्यो, सुखदुःखका कुरा हुन्थे । घरपरिवारमा भोगेका पीडा, गुनासा र मनका कुरा तीजका गीतमार्फत सुनाउने गरिन्थ्यो । त्यसबेला फोन वा सामाजिक सञ्जाल थिएनन् । टाढा भएका आफन्तसँग प्रत्यक्ष भेटेरै कुरा गर्नुपथ्र्यो । त्यसैले तीज महिलाका लागि मनको भारी बिसाउने अवसर पनि थियो ।
छोरी–चेली आउने भएपछि माइती पक्ष पनि बाटो हेरेर बस्थ्यो । घरमा चेलीका लागि दरको जोहो गरिन्थ्यो । उपलब्ध खाद्य सामग्री जुटाएर विशेष खाना बनाइन्थ्यो । सबैजना भेला भएर खाने, नाच्ने र रमाइलो गर्ने गरिन्थ्यो तर तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे । घरको कामलाई प्राथमिकता दिइने भएकाले कतिपयलाई सासू–ससुराले माइती जान अनुमति नदिने अवस्था थियो । बुहारीले घरधन्दा र अन्य काममा बढी समय दिनुपर्ने भएकाले माइतीसँग भेटघाट गर्ने अवसर सीमित हुन्थ्यो । “तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे । घरको काम गर्नुपर्छ भनेर कतिपयलाई जान दिइँदैनथ्यो । त्यतिबेला काम नै ठूलो कुरा मानिन्थ्यो,” उहाँले भन्नुभयो ।
बेँसीसहर नगरपालिका–२ भकुण्डेकी ४४ वर्षीया पार्वती क्षेत्रीले भने आफ्नो पुस्तासम्म आइपुग्दा तीज मनाउने तरिकामा विस्तारै परिवर्तन आएको अनुभव गर्नुभएको छ । अघिल्लो पुस्ताको तुलनामा महिलामा चेतना बढ्दै गएपछि चेलीलाई माइती जान दिने र महिलाले पनि चाडपर्व मनाउन पाउनुपर्ने सोच विकास हुँदै गएको उहाँ बताउनुहुन्छ । “पहिलेभन्दा विस्तारै चेतना बढ्दै गयो । माइती जानुपर्छ, चाडपर्व मनाउन पाउनुपर्छ भन्ने कुरा पनि बुझ्न थालियो । त्यसपछि माइती जाने र भेटघाट गर्ने अवस्था अलि सहज हुँदै आयो,” उहाँले भन्नुभयो ।
सडक र सवारीसाधनको पहुँच बढेपछि माइती आउजाउ अझ सहज भयो । पहिले बाबु, दाजु वा भाइ चेलीलाई लिन आउनुपर्ने अवस्था भए पनि पछि त्यो चलन क्रमशः कम भयो । फोनको सुविधा आएपछि माइतीबाट फोन गरेर बोलाउने र चेली आफैँ जाने क्रम बढ्यो । तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने परम्परा भने कायम रह्यो । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने, दिनभरि साथीसङ्गीसँग भेटघाट गर्ने र नाचगान गरेर तीज मनाउने गरेको उहाँ बताउनुहुन्छ । “तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने चलन थियो । श्रीमान्को आयु लामो होस्, सबै राम्रो होस् भनेर व्रत बसिन्थ्यो । दिनभरि साथीसङ्गीसँग भेटेर नाचगान गर्दै सुखदुःख साटेर तीज मनाउँथ्यौँ,” उहाँले भन्नुभयो ।
बेँसीसहरकी २५ वर्षीया स्वेच्छा श्रेष्ठले भने आफूले देख्दै र भोग्दै आएको तीज अघिल्लो पुस्ताको भन्दा निकै फरक रहेको बताउनुहुन्छ । उहाँका लागि तीज महिलाको पर्व हो । तीजमा दर खाने, व्रत बस्ने र श्रीमान्को दीर्घायुको कामना गर्ने परम्पराबारे उहाँ जानकार हुनुहुन्छ । “तीज भनेको महिलाहरूको पर्व हो भन्ने बुझेकी छु । तीजमा व्रत बस्ने, अघिल्लो दिन दर खाने र श्रीमान्को आयु लामो होस् भनेर कामना गर्ने चलन हो भन्ने बुझेकी छु,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले तीज आउनुभन्दा महिनौँअघि देखि नै दर खाने कार्यक्रम सुरु हुन्छन् । साथी तथा महिलाहरू समूह बनाएर पार्टी, समारोह र रेस्टुरेन्टमा जाने, दर खाने र रमाइलो गर्ने चलन बढेको छ । परम्परागत खानासँगै मासु, चिउरा तथा विभिन्न पेयपदार्थसहितका कार्यक्रम पनि हुन थालेका छन् । पहिरन र गरगहनामा प्रदर्शनको प्रवृत्ति बढेको उहाँको अनुभव छ । कसले राम्रो पहिरन लगाउने र कसले बढी आकर्षक देखिने भन्ने प्रतिस्पर्धा देखिन थालेको उहाँ बताउनुहुन्छ ।
तीज मनाएका तस्बिर, भिडियो तथा कार्यक्रमका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन पनि अहिले बढ्दै गएको छ । यसले तीजलाई घर, माइती र समुदायको सीमाबाट निकालेर सामाजिक सञ्जालको सार्वजनिक संसारमा पु¥याएको छ । तीजका गीतको स्वरूपमा आएको परिवर्तनप्रति भने उहाँको चिन्ता छ । पहिले धार्मिक भावना, मौलिक संस्कार–संस्कृति तथा महिलाका सुखदुःख समेटिएका गीत गाइन्थे । अहिले तीजका नाममा मनोरञ्जन र नाचगानलाई बढी प्राथमिकता दिने गीत आउने गरेको उहाँको बुझाइ छ ।
नेपाली मौलिक गीतसँगै विदेशी गीतमा पनि नाचगान गर्ने चलन बढेको उहाँ बताउनुहुन्छ । “अहिले तीजको नाममा रमाइलो र नाचगानलाई बढी प्राथमिकता दिइएको जस्तो लाग्छ । मौलिक तीजका गीत र परम्परा जोगाउन सबैले सचेत भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँ सम्भव भएसम्म गाउँघरमै, नभए आफ्नै घरमा साथीहरूसँग भेला भएर तीज मनाउने पक्षमा हुनुहुन्छ ।
तीजलाई केवल रमाइलो र प्रदर्शनको पर्वभन्दा पनि सुखदुःख साट्ने तथा मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउनुपर्ने उहाँको धारणा छ । तीन पुस्ताका यी अनुभवले तीजको बदलिँदो तस्वीर देखाउँछन् । हिजो तीज माइती पुग्ने र मनका पीडा पोख्ने अवसर थियो । त्यसपछि सडक, सवारीसाधन र फोनसँगै माइती आउजाउ सहज भयो । अहिले तीज रेस्टुरेन्ट, समारोह र सामाजिक सञ्जालसम्म विस्तार भएको छ ।
माध्यम फेरिए पनि तीजको केन्द्रमा रहेको चेली र माइतीको सम्बन्ध, सुखदुःख साट्ने चाहना र आफ्नो संस्कृतिप्रतिको अपनत्व भने हराउनु हुँदैन । तीजलाई समय अनुकूल बनाउँदै लैजाँदा त्यसको मौलिकता जोगाउने चुनौती पनि सँगसँगै आएको छ । माइतीको आँगनबाट सुरु भएको तीजको यात्रा आज सामाजिक सञ्जालसम्म आइपुगेको छ । अबको प्रश्न यही हो–परिवर्तनसँगै अघि बढ्दा तीजको मौलिक आत्मालाई कसरी जोगाउने ?

Sharing

प्रतिक्रिया दिनुहोस