• २०८३ भाद्र २८ गते आइतवार

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३ औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरेका थिए । भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्ध थप सुदृढ तथा विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

यसअघि भ्रमणपूर्व जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधान सेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहेका बेला बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस