भदौ २६, काठमाडौं । राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहनुभएका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । “अन्य देशका सहरमा जताततै यस्तै खुल्ला हरियो चौर देखिन्थ्यो, अहिले आफ्नै देशको राजधानीमा देख्न पाइयो, गर्न चाह्यो भने नहुने के छ र !” उहाँ भन्नुहुन्छ ।
चार वर्षअघि काठमाडौँ आउँदा टुँडिखेलमा हिलो हुने, खाल्डाखुल्डी हुने र हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । अहिले खाल्डाखुल्डी पुर्ने र दुबो रोपेर हरियाली भएको देख्दा केहीबेर यहीँ आराम गरेर बसेको उहाँ सुनाउनुहुन्छ । उहाँले टुँडिखेल व्यवस्थित भएपछि सर्वसाधारणले यहाँ घुम्ने, फोटो खिच्ने, सामाजिक सञ्जालका लागि सामग्री बनाउने तथा मनोरञ्जन गर्ने वातावरण बन्ने बताउनुभयो ।
त्यस्तै, टुँडिखेलमा भेटिनुभएका अर्का युवा जगत ओलीले महानगरपालिकाको हरियाली अभियान स्वागतयोग्य भएको बताउनुभयो । “टुँडिखेललाई हरियाली बनाउने अभियान निकै स्वागतयोग्य छ । टुँडिखेलसहित काठमाडौँमा रहेका अन्य सार्वजनिकस्थलमा पनि यसैगरी हरियाली बनाउन आवश्यक छ । यसले यहाँको सौन्दर्य बढ्नुका साथै पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्न सक्छ,” उहाँले भन्नुभयो ।
टुँडिखेलको मैदानमा दुबो रोपेर हरियाली बनाउने कामले ललितकुमार र जगत्लाई मात्र होइन, स्थानीय बासिन्दा तथा सर्वसाधारणमा पनि सकारात्मक प्रतिक्रिया देखिएको छ । वर्षौंदेखि धुलाम्य, उजाड र हिउँदमा हिलो हुने समस्याले प्रभावित टुँडिखेलमा दुबो (बरमुढा घाँस) रोप्ने काम तीव्र गतिमा अघि बढेपछि अहिले हरियाली र आकर्षक देखिन थालेको हो ।
काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई सफा, सुन्दर, वातावरणमैत्री तथा नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नेपाली सेना र अन्य सरोकारवाला निकायसँगको समन्वयमा ‘टुँडिखेल हरियाली कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअन्तर्गत सैनिक मञ्चभन्दा दक्षिणतर्फको ठूलो भू–भागमा विशेष प्रजातिको बरमुढा दुबो रोप्ने कार्य भइरहेको छ ।
यस क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले करिब ६१ हजार २६३ वर्गमिटर क्षेत्रमा दुबो रोप्ने काम भइरहेको छ । दुबो रोपिएसँगै टुँडिखेलको मैदानको स्वरूपमा उल्लेख्य परिवर्तन देखिन थालेको छ । यसअघि सुक्खा मौसममा धुलो उड्ने र वर्षातका समयमा हिलो हुने मैदान अहिले क्रमशः हरियो बन्दै गएको छ ।
दुबो रोप्ने जिम्मेवारी बेन्जामीन–सुस्मन–आरकेजेभीले लिएको छ । आरकेजेभीका सञ्चालक रविनकुमार गौतमका अनुसार गत मङ्सिरदेखि सुरु गरिएको काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार करसहित रु दुई करोड ४२ लाखको लागतमा दुबो रोप्ने तथा आवश्यक व्यवस्थापनका काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । “गत मङ्सिरदेखि दुबो रोप्न सुरु गरिएकामा हालसम्म करिब ९० प्रतिशत सम्पन्न भएको छ । आगामी मङ्सिर मसान्तसम्म काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्नेछौँ,” गौतमले भन्नुभयो ।
तीन इन्च मलिलो माटो राखेर दुबो रोपिँदै
मैदानको चारै कुनामा बोरिङ खनेर आवश्यक समयमा पानी उपलब्ध गराउने व्यवस्था मिलाइँदैछ । नियमित सिँचाइ र उचित व्यवस्थापनबाट रोपिएको दुबोलाई संरक्षण गर्दै टुँडिखेललाई वर्षभरि हरियाली राख्ने योजना रहेको निर्माण व्यवसायीको भनाइ छ । टुँडिखेलजस्तो ठूलो खुला क्षेत्रमा घाँस रोप्दा यसको सौन्दर्य मात्र बढ्ने नभई वातावरणीय दृष्टिले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सहरी क्षेत्रमा बढ्दो धुलो नियन्त्रण गर्न, तापक्रम सन्तुलनमा सहयोग पु¥याउन तथा खुला क्षेत्रको वातावरणीय गुणस्तर सुधार गर्न हरियालीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले महानगरले यसलाई प्राथमिकतामा राखेको जनाएको छ । दुबो रोपिएसँगै टुँडिखेलको ठूलो भू–भाग हरियो देखिन थालेको छ । वर्षायाममा वरिपरिका रूख तथा अन्य वनस्पति पनि हरिया भएका कारण टुँडिखेलको प्राकृतिक सौन्दर्य थप बढेको देखिन्छ ।
भूमिगत पानीको पुनर्भरणमा पनि सहयोग
टुँडिखेलमा हरियाली विस्तारसँगै भूमिगत जलस्रोत संरक्षणलाई समेत जोड दिइएको छ । पानीको उचित व्यवस्थापन तथा भूमिगत जलस्तर बढाउन ‘वाटर रिचार्ज पिट’ निर्माण गर्ने व्यवस्था मिलाइँदैछ । बर्सातको पानीलाई व्यवस्थित रूपमा जमिनमुनि पठाउन सकिएमा भूमिगत पानीको पुनर्भरणमा सहयोग पुग्ने र सहरी क्षेत्रमा पानीको व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसले टुँडिखेलको हरियाली संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुग्ने महानगरको विश्वास छ ।
विशेषगरी काठमाडौँ उपत्यकामा खुला तथा हरियाली क्षेत्र निरन्तर घट्दै गइरहेको अवस्थामा टुँडिखेलमा हरियाली विस्तारलाई वातावरणीय दृष्टिले महत्वपूर्ण कामका रूपमा हेरिएको छ । व्यस्त सहरी क्षेत्रमा रहेको यस खुला क्षेत्रलाई हराभरा बनाउँदा सर्वसाधारणलाई स्वच्छ वातावरणमा हिँडडुल, व्यायाम तथा आराम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गरिने
टुँडिखेल काठमाडौँको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको खुला क्षेत्र हो । पछिल्ला वर्षमा यसको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका विषयमा विभिन्न क्षेत्रबाट आवाज उठ्दै आएको थियो । नागरिकको बढ्दो मागलाई ध्यानमा राख्दै महानगरपालिकाले टुँडिखेललाई स्थायी संरचनारहित खुला क्षेत्रका रूपमा संरक्षण गर्ने नीति अघि सारेको जनाएको छ ।
महानगरपालिकाका अनुसार टुँडिखेल क्षेत्रमा कुनै पनि स्थायी संरचना निर्माण गरिने छैन । यसलाई नागरिकको हिँडडुल, व्यायाम, खेलकुद तथा सार्वजनिक समारोहका लागि सहज हुने गरी खुला क्षेत्रकै रूपमा व्यवस्थापन गरिनेछ । सहरी जीवनशैलीका कारण शारीरिक गतिविधिका लागि खुला स्थानको अभाव बढ्दै गइरहेको अवस्थामा टुँडिखेलको व्यवस्थित विकासले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । बिहान–बेलुका हिँडडुल तथा व्यायाम गर्ने नागरिकदेखि सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने समुदायसम्मका लागि टुँडिखेल उपयोगी हुने गरी यसको व्यवस्थापन गरिने महानगरको भनाइ छ ।
दुबो संरक्षणका लागि नियमित सिँचाइ र व्यवस्थापन
दुबो रोप्नु मात्र पर्याप्त नहुने भएकाले यसको संरक्षण र नियमित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । विशेषगरी काठमाडौँको मौसम, वर्षायाममा हुने अत्यधिक पानी र हिउँदमा हुने सुख्खापनलाई ध्यानमा राख्दै सिँचाइ तथा पानी निकासको उचित व्यवस्था आवश्यक हुने निर्माण व्यवसायीको भनाइ छ । यसैलाई ध्यानमा राखेर बोरिङ तथा पानी व्यवस्थापनको काम अघि बढाइएको हो ।
मैदानमा आवश्यकताअनुसार सिँचाइ गर्न सकिने व्यवस्था भएपछि दुबो लामो समयसम्म हरियो र स्वस्थ राख्न सहज हुने अपेक्षा गरिएको छ । टुँडिखेलको हरियाली कायम राख्न नागरिकको भूमिकासमेत महत्वपूर्ण हुने देखिएको छ । घाँसमा अनावश्यक रूपमा सवारीसाधन चलाउने, फोहोर फाल्ने तथा दुबो नष्ट हुने गतिविधि नियन्त्रण गर्न सकेमा यसको संरक्षण अझ प्रभावकारी हुने सरोकारवालाको भनाइ छ ।
निर्माण अवधिमा कार्यक्रम सञ्चालनमा रोक
दुबो रोप्ने तथा मैदानको निर्माण र व्यवस्थापन कार्य चलिरहेकाले हाल टुँडिखेल क्षेत्रमा हुने आमसभा, खेलकुद, सांस्कृतिक कार्यक्रमलगायतका गतिविधिमा अस्थायी रोक लगाइएको छ । मैदानमा रोपिएको दुबो राम्रोसँग हुर्कन तथा निर्माण कार्य सुरक्षित रूपमा सम्पन्न गर्न केही समय नागरिकका नियमित तथा सार्वजनिक गतिविधि सीमित गरिएको हो । काम सम्पन्न भएपछि भने टुँडिखेललाई व्यवस्थित रूपमा नागरिकको प्रयोगमा ल्याउने महानगरपालिकाको योजना छ ।
हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी कामसमेत निर्धारित समयभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । मङ्सिर मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । दुबो रोप्ने काम पूरा भएपछि टुँडिखेलको दृश्यमा अझ ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । हरियो मैदान, व्यवस्थित सिँचाइ, पानी पुनर्भरण संरचना तथा खुला क्षेत्रको संरक्षणसँगै टुँडिखेल काठमाडौँको महत्वपूर्ण हरित तथा सार्वजनिकस्थलका रूपमा थप आकर्षक बन्ने देखिएको छ ।
ऐतिहासिक पहिचान बोकेको टुँडिखेललाई आधुनिक सहरी आवश्यकतासँग जोड्दै खुला, स्वच्छ र हरियाली क्षेत्रका रूपमा विकास गर्ने प्रयासले काठमाडौँको वातावरणीय सुधारमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
स्थायी संरचना नबनाउने महानगरको योजना
टुँडिखेल केवल हरियाली मैदान मात्र नभई काठमाडौँको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको सार्वजनिकस्थल हो । यसको संरक्षण तथा व्यवस्थित उपयोगका विषयमा लामो समयदेखि विभिन्न क्षेत्रबाट आवाज उठ्दै आएको थियो । महानगरपालिकाले टुँडिखेललाई स्थायी संरचनाले भरिएको क्षेत्र नभई खुला तथा नागरिकमैत्री सार्वजनिकस्थलका रूपमा विकास गर्ने नीति अघि सारेको जनाएको छ ।
महानगरपालिकाका अनुसार टुँडिखेलमा कुनै पनि स्थायी संरचना निर्माण गरिने छैन । नागरिकको हिँडडुल, व्यायाम, खेलकुद तथा सार्वजनिक समारोहका लागि सहज हुने गरी खुला क्षेत्रकै रूपमा यसको व्यवस्थापन गरिनेछ । काठमाडौँमा बढ्दो जनघनत्वसँगै खुला स्थानको अभाव भइरहेको अवस्थामा टुँडिखेलको संरक्षणले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । बिहान–बेलुका हिँडडुल तथा व्यायाम गर्ने नागरिकदेखि सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने समुदायसम्मका लागि टुँडिखेललाई उपयोगी बनाउने योजना महानगरको छ ।
टुँडिखेलमा हरियाली विस्तारको काम पूरा भएपछि यसको दृश्यमा अझ ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । हरियो मैदान, व्यवस्थित सिँचाइ, पानी पुनर्भरण संरचना र खुला क्षेत्रको संरक्षणसँगै टुँडिखेल काठमाडौँको महत्वपूर्ण हरित तथा सार्वजनिकस्थलका रूपमा स्थापित हुनेछ ।
