• २०८३ भाद्र २३ गते मङ्गलवार

आजको मौसम: धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २३, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ भने भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको पनि नेपालमा प्रभाव परेको छ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली (अधिकांश बादल लागेको) तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति भने देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

त्यस्तै मधेश र कोशी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो, गेग्रान बहाव, बाढी तथा भू-क्षयको जोखिम छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवम् उद्धार र राहत कार्यमा असर पर्न सक्ने भएकाले महाशाखाले सबैलाई सतर्क रहन र अद्यावधिक सूचना पालना गर्न अनुरोध गरेको छ।

full-view

Sharing

प्रतिक्रिया दिनुहोस