• २०८३ भाद्र २२ गते सोमवार

विपत्तिमा परी अनाथ भएकाहरुलाई राजकीय संस्कृत विद्यालयको साथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, महोत्तरी । महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको बाढी तथा विपत्तिमा परी अनाथ भएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने घोषणा गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले सोमबार आयोजना गरेको राष्ट्रिय शोक दिवसका अवसरमा गुरुकुलले यस्तो घोषणा गरेको हो।

‘यस विनाशकारी विपत्तिले धेरै छात्रलाई अभिभावकविहीन बनाएको छ। अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। तर ती बालबालिकाको भविष्य पनि अन्धकारमा पर्न नदिनु हाम्रो साझा मानवीय दायित्व हो। त्यसैले गुरुकुल परिवारले बाढी तथा विपत्तिका कारण अनाथ बनेका १० जना छात्रको कक्षा ८ देखि कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने संकल्प गर्दछ,’ प्रधानाध्यापक ईश्वरी पौडेलले वक्तव्य जारी गर्दै भनेका छन् ।

मटिहानी नगरपालिका–७ मा रहेको सो विद्यालय विसं १७५० मा सेन वंशको समयमा स्थापना भएको नेपालको पहिलो गुरुकुलका रूपमा चिनिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस