भदौ १७, काठमाडौं । रसुवामा गत भदाैं १० मा आएको विनाशकारी भोटेकोशी बाढीपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सहायता उपलब्ध गराउने क्रम जारी राखेको छ। नेपालको नेतृत्वमा भइरहेका खोज, उद्धार तथा पुनर्लाभका कार्यहरूमा सहयोग पुर्याउन अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत विपद् पीडितहरूका लागि आज ५,००० थान विशेष राहत सामग्री, ५०० थान प्राथमिक उपचार किट, स्ट्रेचर र ‘फ्रन्ट-एन्ड लोडर’ (भारी उपकरण) उपलब्ध गराइएको छ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको यो सहयोग बाढी प्रतिकार्यका लागि यसअघि नै घोषणा गरिएको ३६ लाख अमेरिकी डलर बराबरको सहायताका अतिरिक्त थप गरिएको हो। यसरी द्रुत गतिमा सहायता उपलब्ध गराइनुले अमेरिका र नेपालबीचको दिगो साझेदारी तथा विपद्को यस घडीमा प्रभावित समुदायहरूलाई सहयोग गर्ने साझा प्रतिबद्धतालाई झल्काउँने अमेरिकी दुतावासले जनाएकाे छ।

