भदौ १५, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न बहराइनविरुद्धको खेल ७ विकेटले जितेर नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । बहराइनले नेपाललाई दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाएका थिए भने रोहित पौडेलले अविजित १९ रन बनाए । त्यस्तै आसिफ सेखले १८, देव खनालले १० रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३ र अलि दाउदले १० रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए ।
नेपालले अब अर्को खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।