• २०८३ भाद्र ८ गते सोमवार

राप्रपाभित्र विवाद चर्किँदा मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विपमा बैठकमा उपस्थित भएर विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न निर्देशन दिइएको जनाइएको छ।

राप्रपामा केन्द्र र बागमती प्रदेश संसदीय दलबीच सरकारमा सहभागी हुने विषयलाई लिएर विवाद चर्किएको छ। पार्टी केन्द्रको निर्णयविपरीत बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री थापामगर नेतृत्वको सरकारलाई समर्थन गर्दै राप्रपाका तीन सांसदलाई सरकारमा सहभागी गराएका थिए।

सरकारमा सहभागी हुनेमा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट र उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति रहेका छन्। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरूसँग केन्द्रीय अनुशासन समितिले स्पष्टीकरणसमेत मागेको छ। राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि समेत कारबाही गरेको समाचार सार्वजनिक भएको छ।

मुख्यमन्त्री थापामगरले भदौ ८ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। राप्रपाका १२ सांसद रहेको बागमती प्रदेशसभामा पार्टीको ह्विपले मुख्यमन्त्रीको विश्वासको मतको अंकगणितलाई थप निर्णायक बनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस