• २०८३ भाद्र ४ गते बिहिवार

बंगलादेशको राष्ट्रपतिमा आलमगीर विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौँ । बंगलादेशमा भएको राष्ट्रपति निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर विजयी भएका छन् । उनी बंगलादेशको २३औँ राष्ट्रपति निर्वाचित भएका हुन् ।

संसदमा भएको मतदानमा आलमगीरले २५५ मत प्राप्त गरे भने विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३४९ सांसदले मतदान गरेका थिए ।

राष्ट्रपति निर्वाचनका लागि बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो ।

बंगलादेशमा राष्ट्रपतिको निर्वाचन जनताबाट प्रत्यक्ष नभई संसद सदस्यले गर्ने व्यवस्था छ । संसदमा सत्तारूढ दलको दुईतिहाइ बहुमत रहेकाले आलमगीरको जित यसअघि नै लगभग निश्चित मानिएको थियो । उनका प्रतिस्पर्धी ओली अहमदलाई जमात ए इस्लामीको नेतृत्वमा रहेका ११ दलको गठबन्धनको समर्थन थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस