साउज ३१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताएका छन्। उनले पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेको बताएका हुन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेताहरूले आफूलाई आवश्यक पर्दा बीपी कोइरालाको विचारलाई उद्धृत गर्ने गरेको बताए।

उनले भने, ‘पछिल्लो समयको परम्परा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने प्रवृत्ति छ । म अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ एकदम व्यापक आइरहेको सुनिरहेको छु । नेताहरूले यतिबेला रातारात बीपीलाई सम्झिनुभएको छ ।’
राजनीतिक विषयमा प्रत्यक्ष रूपमा आफ्नो कुरा राख्न नसक्दा बीपीको नामलाई सहारा बनाउने प्रवृत्ति देखिएको उनको भनाइ थियो।
‘कोसँग कानेखुसी गर्नुपरेको छ, त्यसको लागि फेरि हिम्मत छैन आफैँ आएर भन्ने। त्यो हिम्मत नभएपछि कसलाई सम्झने भन्दा बीपीलाई सम्झने,’ थापाले भने।
बीपी कोइरालाको विचारलाई गलत ढंगले व्याख्या गर्ने र आफूअनुकूल अर्थ लगाउने काम भइरहेको भन्दै थापाले त्यसबारे इतिहासका जानकार तथा तत्कालीन अभियन्ताहरूले वास्तविकता स्पष्ट पार्नुपर्ने बताए।
उनले भने, ‘बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित हुन दिनुहुँदैन। त्यसैले आज बीपीलाई मिसकोट गरिँदा र गलत ढंगले व्याख्या हुँदा त्यो आधिकारिकता हुँदैन। तिमीहरूले देखेका थियौँ बीपी ? भनेपछि छैन भन्नुपर्छ, त्यसैले जो वास्तवमा त्यो बेलाका अभियन्ताहरू अगाडि आएर वास्तविकताबारे बुझाउनुपर्छ।’
थापाले बीपी कोइरालाको राजनीतिक जीवन लामो र निरन्तर विकसित हुँदै गएको भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता भने कहिल्यै परिवर्तन नभएको बताए। बीपीका विचारलाई तत्कालीन राजनीतिक घटनाक्रम र समग्र सन्दर्भसँग जोडेर बुझ्नुपर्ने उनको भनाइ थियो।
उनले बीपी र गणेशमानको योगदानलाई कुनै व्यक्ति, परिवार वा सीमित समूहको स्वामित्वमा राख्न नहुने भन्दै उनीहरूको राजनीतिक योगदान र विचारलाई नयाँ पुस्तासम्म सही रूपमा पु¥याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा गौतमको पुस्तकमाथि बरिष्ठ पत्रकार हरिहर विरही र लेखक एवं पत्रकार सुचेता प्याकुरेलले आफ्नो धारणा राखेका थिए ।