• २०८३ साउन ३१ गते आइतवार

युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउज ३१, काठमाडौँ ।   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् । आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन्

उनले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेको स्मरण गरिन् । लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनसहभागितासँग जोडेर अघि बढाउनुपर्ने दृष्टिकोण भण्डारीले प्रस्तुत गरेको उनले बताइन् ।

‘आज समय बदलिएको छ, समाज बदलिएको छ । प्रविधिले हाम्रो जीवन र राजनीतिक चेतनालाई नै परिवर्तन गरिदिएको छ,’ भण्डारीले भनिन्, ‘त्यसैले नयाँ पुस्ताले मदन भण्डारीका विचारलाई गहिरो गरी बुझ्दै, अध्ययन गर्दै आत्मसात गरेर आजको बदलिँदो समय, आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ ।’

भण्डारीले युवासामु लोकतन्त्रलाई अझ प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही र सक्षम बनाउने तथा राजनीतिक दलको नेतृत्वमा युवाको विश्वास र सहभागिता बढाउनेलगायतका चुनौती रहेको बताइन् ।

यस्तै, शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने, युवालाई स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउने तथा प्रविधि र सामाजिक सञ्जाललाई लोकतन्त्र, सूचना प्रवाह र नागरिक सहभागिताका लागि प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

‘हामीले चाहेको समाज र राज्य कस्तो बनाउने भन्ने विषयमा खुला मनले सोच्ने, अध्ययन गर्ने र आपसमा विचार आदानप्रदान गर्ने आवश्यकता छ,’ उनले भनिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस