साउन ११, काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भक्तपुरको सानोठिमीस्थित एसओएस बालग्राम का कर्मचारीहरू सवार रहेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो। स्कार्पियोमा चालकसहित कुल ६ जना सवार थिए। घाइतेमध्ये सस्मिता खतीवडा (३९), भरत पौडेल (३५), डिना सोनाहा (३६) र देवेन्द्रराज पाण्डे (२६) को ललितपुरस्थित बी एन्ड बी अस्पताल मा उपचार भइरहेको छ। यस्तै कीर्तिपुर–५ निवासी ३९ वर्षीय निशान महर्जन को मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ। दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।