हरिशयनी एकादशी हिन्दू धर्मको सबैभन्दा पवित्र एकादशीहरूमध्ये एक हो । शास्त्र अनुसार यसलाई देवशयनी एकादशी, आषाढी एकादशी वा पद्मा एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन भगवान विष्णु क्षीर सागरमा शेष नागको शैयामा चार महिनाका लागि योग निद्रामा प्रवेश गर्नुभएको भन्ने धार्मिक विश्वास छ । यही दिनबाट चतुर्मास प्रारम्भ हुन्छ, जुन कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) मा समाप्त हुन्छ ।

भगवान विष्णु सृष्टिको पालन कर्ता मानिन्छन् । सत्य, धर्म, करुणा, दया, क्षमा, संयम र सदाचारको मार्गमा हिँड्न प्रेरणा दिने शक्ति विष्णु तत्त्वमा निहित रहेको विश्वास गरिन्छ । भगवान श्रीकृष्ण स्वयं विष्णुको अवतार भएकाले भगवत गीतामा उहाँले धर्म, कर्म, सत्य, आत्मसंयम र निष्काम सेवाको सन्देश दिनुभएको छ । त्यसैले हरिशयनी एकादशी केवल एक धार्मिक पर्व मात्र नभई आत्म अनुशासन र आध्यात्मिक जागरणको दिन पनि हो ।
व्रत किन बस्ने ?
व्रतको अर्थ केवल भोकै बस्नु होइन । व्रत भनेको मन, वचन र कर्मलाई शुद्ध बनाउने संकल्प पनि हो। यस दिन उपवास, पूजा, जप, ध्यान, भजन–कीर्तन, दान र सत्कर्म गरिन्छ । इन्द्रीयलाई संयममा राखेर मनलाई भगवानप्रति केन्द्रित गर्ने अभ्यास नै व्रतको मुख्य उद्देश्य हो तर ब्रतको नाममा नेपाली महिलाहरु प्राय: निराहार बस्नाले अनेक रोगको सिकार पनि भएका छन ।
धार्मिक मान्यताअनुसार यस दिन श्रद्धापूर्वक व्रत बस्दा पाप कर्म क्षय हुने, पुण्य वृद्धि हुने, मानसिक शान्ति प्राप्त हुने र भगवान विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ।
हरिशयनी एकादशीले सिकाउने नैतिक शिक्षा
सत्य बोल्ने र झुट नबोल्ने बानी बसाल्ने ।
लोभ, क्रोध, अहंकार र ईर्ष्या लाई त्याग्ने ।
दया, करुणा, क्षमा र परोपकारको भावना विकास गर्ने ।
माता–पिता, गुरु तथा ज्येष्ठको सम्मान गर्ने ।
जीवजन्तु र प्रकृतिप्रति माया र संरक्षणको भावना राख्ने ।
इमानदार, अनुशासित र नैतिक जीवन बिताउने ।
आत्म चिन्तन, ध्यान र भगवानको नाम स्मरणमा समय बिताउने ।
आत्म शान्तिको लागि व्रत:
आज मानिसको जीवनको व्यस्तता यति भयो कि, जीवनमा मानिस धन, पद र सुविधाको पछि दौडँदै गर्दा मानसिक तनाव, असन्तोष र अशान्ति बढ्दै गएको देखिन्छ । अझ सहरिया जीवन त झन यति ब्यस्तामा अल्झिएको हुन्छ कि कोही कसैसँग पनि बोल्ने फुर्सद हुदैन । हरिशयनी एकादशीको व्रतले केही समय सांसारिक मोहबाट अलग भई आत्माको आवाज सुन्ने अवसर दिन्छ । जब मनमा सत्य, प्रेम, दया र भगवानप्रतिको श्रद्धा जाग्छ, तब वास्तविक शान्तिको अनुभूति हुन्छ । यही शान्तिले नै नैतिक जीवन, सद् व्यवहार र सकारात्मक सोचको विकास गराउँछ ।
निचोड:
हरिशयनी एकादशी केवल धार्मिक संस्कारको पालन गर्ने दिन मात्र होइन, आत्म शुद्धि, आत्मसंयम र नैतिक जीवनको अभ्यास गर्ने अवसर हो । भगवान विष्णु र श्रीकृष्णको शिक्षाले सत्य, धर्म, करुणा, प्रेम र निष्काम कर्मको मार्गमा हिँड्न प्रेरणा दिन्छ । यदि व्रतसँगै हामी झुट नबोल्ने, कसैलाई दुःख नदिने, इमानदार बन्ने, दया र परोपकार गर्ने तथा आत्म अनुशासन पालना गर्ने संकल्प गर्छौं भने त्यही नै हरिशयनी एकादशीको वास्तविक महिमा र सार्थकता हुनेछ । बाहिरी पूजा भन्दा ठूलो पूजा भनेको असल चरित्र, शुद्ध मन र सत्कर्म हो तर आजका पिढीमा यस्ता कुराहरुको ज्ञान नितान्त हुन आवश्यक भए पनि त्यति महत्व दिएको पाइदैन ।