• २०८३ असार १७ गते बुधवार

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो ।

आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस