असार १६, काठमाडौं । यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन आगमनसम्बन्धी बुलेटिन जारी गर्दै असार १६ गते (आज) देखि मनसुन देशका सबै भूभागमा विस्तार भएको जानकारी दिएको हो ।

महाशाखाका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गर्दै कोशी प्रदेशको केही क्षेत्रमा फैलिएको थियो । त्यसपछि असार ८ गतेसम्म कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन विस्तार भएको थियो ।
नेपालमा सामान्यतया जुन १३ तारिखतिर पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने र करिब एक साताभित्र देशभर फैलिने गर्छ । तर यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो । देशभर मनसुन विस्तार हुन भने यस वर्ष १२ दिन लागेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने भएकाले सबैलाई आधिकारिक मौसम सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।