असार १४, काठमाडौं । ह्यारी केनले विश्वकपमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेपछि इङ्ग्ल्यान्डले पानामामाथि २- ० को जित निकाल्दै समूह ‘एल’ को विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।

सुरुआती समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । लामो समयसम्म गोलरहित रहेको खेलमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा बुकायो साकाको कर्नरलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि बेलिङ्घमकै आकर्षक क्रसमा ह्यारी केनले नजिकैबाट हेडमार्फत गोल गर्दै इङ्ग्ल्यान्डको अग्रता दोब्बर बनाए । यो केनको विश्वकपमा ११औँ गोल हो । यससँगै उनले ग्यारी लाइनेकरको १० गोलको कीर्तिमान तोड्दै विश्वकपमा इङ्ग्ल्यान्डका सर्वाधिक गोलकर्ता बने । उनले इङ्ग्ल्यान्डका लागि ११७ खेलमा ८२ गोल पूरा गरेका छन् ।
जित निकाले पनि इङ्ग्ल्यान्डको रक्षापङ्क्ति भने फेरि कमजोर देखियो । घाइते रीस जेम्सको स्थानमा खेलेका जारेल क्वान्साह पनि दोस्रो हाफमा चोटका कारण मैदान छाड्न बाध्य भए, जसले टोलीको चिन्ता थपेको छ ।
यस जितसँगै इङ्ग्ल्यान्डले अन्तिम ३२ मा डिआर कङ्गो वा सेनेगलमध्ये एक टोलीसँग खेल्ने सम्भावना बलियो बनाएको छ । यही खेलमा विकल्पका रूपमा मैदान प्रवेश गरेका जोर्डन हेन्डरसन चारवटा विश्वकपमा इङ्ग्ल्यान्डको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी पनि बने ।
उता, फिलाडेल्फियामा भएको अर्को खेलमा क्रोएसियाले पहिले नै अघिल्लो चरण पुगिसकेको घानालाई २-१ ले हराउँदै अन्तिम ३२ मा स्थान बनाएको छ ।
पेटार सुचिचले पहिलो हाफमा शानदार गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर ७३औँ मिनेटमा घानाका डेरिक लकासेनले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ८३औँ मिनेटमा निकोला भ्लासिचले हेडमार्फत निर्णायक गोल गर्दै क्रोएसियालाई जित दिलाए ।
यस नतिजासँगै क्रोएसिया समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ भने घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एकका रूपमा अन्तिम ३२ मा पुगेको छ । क्रोएसियाको जितसँगै स्कटल्यान्डको अन्तिम ३२ पुग्ने बाँकी रहेको सम्भावना पनि समाप्त भएको छ ।