असार ५, काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारबाट कुनै अदृष्य गिरोहको हुमुकी राज जन्माएको आरोप लगाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई नौं घण्टा दवावमा राखेको विशेष व्यक्ति पक्राउका लागि दवाव दिएको भन्ने समाचार सार्वजनिक भएको बताउदै सिंहदरबारबाट कुनै अदृष्य गिरोहको हुमुकी राज जन्माएको आरोप लगाएका हुन् ।

सांसद खड्काले अख्तियारका पदाधिकारी मात्र नभई एक जना विदेशी राजदूतलाई समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यबहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद बुढाले अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका मुद्दाहरुमा छानविन गर्नुपर्ने बताउदै कानुन भन्दा कोही माथि नहुने बताए । उनले लोकतान्त्रिक व्यवस्थामा परिणाम मात्र हेरेर नहुने यसको विधि र प्रक्रियालाई समेत पालना गर्नुपर्ने उनले बताए ।
उनले अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको संवैधानिक निकाय नभएको कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन भन्दै प्रश्न गरेका छन् । साथै उनले लोकतन्त्र, प्रक्रिया र विधिमा विश्वास गर्नेहरु अहिले सरकारको स्वेच्छाचारिता देखेर छक्क परिरहेको टिप्पणी गरेका थिए ।